अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

२०७८ श्रावण ३२ गते, सोमबार


काठमाडौ । नेपाल सरकारले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । तत्काल उक्त अनलाइन रजिस्ट्रेसनमा सहभागी हुन अपिल गरिएको छ । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।
परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७–९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।
काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]