चिया किसानमाथि बिचौलियाको शोषणको अन्त्य नगरे प्रतिरोध सङ्घर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामले चिया किसानमाथि बिचौलियाको शोषणको अन्त्य नगरे प्रतिरोध सङ्घर्ष थाल्ने चेतावनी दिएको छ । सो पार्टीले सुर्योदय नगरपालिकामा रहेका किसानहरूको चिया उत्पादनको मूल्यमा ठूलो शोषण भएपछि किसानको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै खेद र निन्दा प्रकट गर्दै प्रतिरोध सङ्घर्ष थाल्ने चेतावनी दिएको हो ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी इलामले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘इलाम जिल्लामा चिया उत्पादन हुने मुख्य क्षेत्र सुर्योदय नगरपालिका हो । त्यहाँस्थित चिया किसानको उत्पादनको मूल्यमाथि भइरहेको चरम शोषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सुर्योदय नगरपालिकाले ‘चिया कार्यविधि–०७५’ जारी गरि किसानले स्वतन्त्र रुपमा चिया बाहिर बेच्न नपाउने, चियाको मूल्यप्रति केजी रु. ४० अनिवार्य दिने जस्ता बजार एकाधिकार र सिण्डिकेट लाद्न पुग्यो । यसको मारमा किसानहरू त छँदै थिए, यतिबेला त्यहाँका बिचौलिया व्यापारीहरू कार्यविधिलाई समेत धोती लगाएर किसानको चियाप्रति केजी रु. २० तोक्दै किसानमाथि घोर अन्याय गरिरहेका छन् । श्रम, पसिनाले जिविकोपार्जन गर्ने किसानहरू माथिको यसप्रकारको रवैया खेदजनक र निन्दनीय रहेको छ ।’
त्यसैगरी विज्ञप्तिको भनिएको छ – ‘अतः किसानलाई सिजन अनुसारको दाम दिन, कार्यविधिले तोके अनुसारको दामप्रति केजी रु. ४० लाई अनिवार्य गर्न, एकाधिकार बजारको अन्त्य गरि स्वतन्त्र प्रतिस्पर्धामा चिया बाहिर बेच्न पाउने किसानको माग पूरा गर्न सम्बन्धित सुर्योदय नगरपालिका र सरोकारवाला सबैलाई अनुरोध गर्दछौँ । बिचौलिया व्यापारी पोस्ने र उनीहरूको सुरक्षा मात्र गरेर किसानमाथि गरिने अन्याय तुरुन्त नसच्याएर जारी राखे किसानहरूले प्रतिरोध सङ्घर्ष गर्ने विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ ।’