वैज्ञानिक समाजवादका लागि सबै मजदुर एकीकृत हुनु अनिबार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा नेपालका सबै मजदुरहरू एकीकृत हुनुपर्ने बताएका छन । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाङ्ंघ दाङ जिल्लाको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेता शितलले सो कुरा बताएका हुन । नेता शितलले संसदीय व्यवस्था दिनप्रतिदिन असफल र घृणित बन्दै गएको ठोकुवा गर्दै संसदीय व्यवस्थामा नेपालका श्रमिक, मजदुरहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुने भन्दै अधिकार प्राप्तिका लागि बिद्रोह गर्नुपर्ने बताए । एक फरक प्रसङ्गमा नेता शितलले पार्टीले वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतलाई दिनुपर्ने एजेण्डा अघि सारेको बताए । त्यसैगरी दोस्रो बैठकमा समग्र जिल्लाको योजना र सांगठनिक कामकाजको बिषयमा मन्तव्य जिल्ला सेक्रेटरी प्रदिपले राखेका थिए ।
बैठकले कात्तिक मसान्तसम्म जिल्ला सम्मेलन गर्ने, पालिका सम्मेलन असोज महिनाभित्र गर्ने, प्रत्येक सेक्टरको मजदुर सङ्गठनको जिल्ला भेला कात्तिक १५ सम्म गर्ने, अन्य मजदुरसँग छलफल गरि ध्रुवीकरणलाई जोड दिने, राजनीतिक प्रशिक्षण तथा स्कुलिङमा सहभागी हुने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा राप्ती व्युरो संयोजक डिल्ली, नेकपा घोराही नगर इन्चार्ज तिलकको आतिथ्यमा बैठक सम्पन्न भएको थियो भने बैठकको अध्यक्षता तथा सञ्चालन सङ्गठनका जिल्ला अध्यक्ष सञ्जयले गरेका थिए ।