‘पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने पनि हो ‘

२०७८ भाद्र ५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचारप्रसार केन्द्रीय सूचना विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै नेता प्रज्वलनले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रशिक्षण दिदै नेता प्रज्वलनले यथार्थतालाई स्वीकार गर्दै परिवर्तनका लागि जनताप्रति उत्तरदायी भएर जनपत्रकारहरु भूमिका खेल्न आवश्यक रहेको बताए । नेपालका राजनीतिक दलहरु आफ्नो घोषित नीतिमा इमान्दार नभएका कारण अहिलेसम्म यो व्यवस्था परिवर्तन हुन नसकेको दाबी गरे । उनले भने, –‘कुनै पनि ठाउँ छैन यो व्यवस्था ठिक छ भन्ने त्यसैले यो व्यवस्थामा किन झुण्डिराख्ने ? अर्को विकल्प खोजौँ भनेर नेकपाले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याएको छ ।’
यदि चुन्ने र चुनिने अधिकार नै लोकतन्त्रको उच्चतम अभ्यास हो भने एक चोटि व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने माग गरे ।


कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै जनपत्रकार संगठन नेपालका संयोजक शेर बहादुर विश्वकर्माले समाजवादको पक्षमा जनमत सिर्जना गर्ने पत्रकारिता हुनुपर्ने बताए । समाजवाद त सबैले भन्छन् मुखले तर व्यवहारतः नेपाल कम्युनिष्ट पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवाद कस्तो हो र केके कारणले राम्रो हो हुन्छ भनेर लेख्ने, उजागर गर्ने काम जनपक्षीय पत्रकारहरुले गर्नुपर्ने बताए । हरेक मिडिया र मिडियाकर्मीको मिसन छ भन्दै उनले भने, कुनै पनि पत्रकार गैर राजनीतिक छैनन्, तर मिसन पत्रकारिता गर्दा व्यवसायिक पत्रकारितामा ध्यान दिनुपर्छ ।’
जनपत्रकार संगठन नेपालका केन्द्रीय आयोजक कमिटीका सदस्य जानकी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रातोखबर प्रकाशन गृह प्रा.लि. का सम्पादक अशोक सुवेदी, संगठन नेपालका केन्द्रीय आयोजक कमिटीका सदस्यहरु राजेन्द्र चिमौरिया , सुदर्शनराज पाण्डे, दिपेश शाही, सुर्य बराललगायतले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रमको सञ्चालन संगठन नेपालका केन्द्रीय आयोजक कमिटीका सदस्य शोभराज बरालले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य संगठनका काठमाडौँ संयोजक जितेन्द्र महर्जनले राखेका थिए । भेलामा सहभागी सबै जनाले आ-आफ्नो जिल्लाको रिपोर्ट राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचारप्रसार केन्द्रीय सूचना विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ को प्रमुख आतिथ्यतामा भएको भेलाले प्रदेशको सम्मेलन असोज ८ र ९ गते गर्ने निर्णय गरेको छ । त्यस्तै उपत्यका प्रदेशको सम्मेलन असोज ११ र १२ गते गर्ने र बागमती प्रदेश अन्तरगतका सबै जिल्लाको भेला सम्मेलन भदौसम्म गरी सक्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]