काठमाडौं उपत्यकाको निषेधाज्ञा हट्यो

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा करिब पाँच महिनापछि हटाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको बुधबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी बिहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बैठकपछि जारी आदेशमा उल्लेख छ । विद्यालय सञ्चालनको हकमा भने नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । अब पसल, रेष्टुरेन्ट, होटललगायतका व्यवसायहरू पनि सञ्चालन गर्न पाइने भएको छ । तर, भिडभाड हुने गतिविधि गर्न भने निषेध गरिएको छ । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा विहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजे सम्म गर्न पाइने जनाइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी भने बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म गर्न पाइने व्यवस्था मिलाइएको छ ।