नेकपाद्वारा एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन

२०७८ भाद्र २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ। यसैक्रमा सो पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत् विरोध प्रर्दशन गरेकाे छ । नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो ।
नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरुले शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै राष्ट्रघाति एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधनिताको रक्षा गर, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नाराबाजी गरेका थिए । प्राधिकरण अगाडीबाट सुरु भएको र्याली सदरमुकामको सरकारी कार्यालय हुँदै लेखनाथचोक, चन्द्रगढी बजार परिक्रममा गर्दै कृषि बैंक अगाडी आएर कोणसभामा परिणत भएको थियो । कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव तारा थापा (प्रशान्त)ले एमसीसी राष्ट्रघाति सम्झौता भएको भन्दै यसकोविरुद्ध सबै जनता सडकमा उत्रिनु पर्ने बताए । देशका नेताहरुलाई राष्ट्रको ढुकुटी लुटेर नपुगेको आरोप लगाउँदै उनले भने, ‘जनताबाट चन्दा संकलन गरेर नेतालाई सहयोग गरौंला, तर राष्ट्रघाति सम्झौता कुनै पनि हालतमा गर्न दिँदैनौं ।’ राष्ट्र जनजागरण मञ्च नेपालका केन्द्रीय संयोजक सुरेन्द्र कार्कीले समाजवाद र प्रजातन्त्रको नारा लगाएर सरकारमा गएको काँग्रेस आज सत्तामा पुगेपछी देश बेच्न लागी परेको आरोप लगाए । उनले एमसीसी सम्झौता इष्टइण्डीया कम्पनीको नमुना रहेको भन्दै अमेरिकाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्न लागि परेको उल्लेख गरे ।
यता, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार भदौ २५ गते शुक्रबार एमसीसी सम्झौताको विरुद्धमा त्रियुगा नगरपालिका गाईघाट पिपल चोकमा र उदयपुरको पुरानो सदरमुकाम उदयपुर गढीमा बिरोध प्रदर्शन भएको छ । बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगरपालिका सेक्रेटरी देहज बिष्टले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफूहरू नडराउने बताए । उनले एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिवेश बनाउन खोजेको भन्दै देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकाएका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको बताए । बिष्टले रास्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ–गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्छ, संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताए ।
यस्तै उदयपुरको गाउँपालिका इन्चार्ज जितबहादुर पुलामीले जनतालाई आतङ्कित पार्दै एमसीसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने बताए । उनले उनीहरूले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल, हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताए । उनले भने, ‘संसदीय सरकार विघटन गरेर प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।’ गाईघाटमा सञ्चालक निसान कटुवालले गरेका थिए भने उदयपुर गढीमा ढकबहादुर राउतले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध देशव्यापी घोषणा गरेको कार्यक्रम अन्तर्गत रूपन्देहीको शुद्धोधन गाउँपालिकाको शिसैचोकमा विरोध सभा गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी विश्वासले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । उनले देशको सार्वभौमसत्ताविरुद्ध एमसीसी परियोजनाले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष गर्नुपर्ने बताए ।
नेकपाका जिल्ला नेता एवम् कञ्चन/गैडहवा गाउँपालिकाका सेक्रेटरी नवीनले एमसीसी सम्झौता र साम्राज्यवादका दलालहरुविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । शुद्धोधन/सियारी सेक्रटेरी तथा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले नेपाललाई अमेरिकी सेनाको क्रिडास्थल बनाउन दिनु नहुने भन्दै निरन्तर सङ्घर्ष आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन शुद्धोधन तथा सियारी गाउँपालिका सेक्रेटरी तथा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए । नेकपाले २३ गतेदेखि २८ गतेसम्म लगातार एमसीसीविरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]