युवा सङ्गठन मकवानपुर ,म्याग्दी र तनहुँद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र

२०७८ भाद्र ३१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै उक्त पत्र बुझाएको हो ।
तीनबुँदे सहमति कार्यान्वयनका लागि युवा सङ्गठन नेपाल मकवानपुरले प्रशासन कार्यालयका सहायक प्रमुखमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौँलाई ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा सङ्गठनले तीनबुँदे मागहरू उल्लेख गरेको छ । राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरू खारेज हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निसर्त रिहाइ गर्नुपर्ने र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्नुपर्ने मागहरू रहेका छन् । यस्तै ज्ञापनपत्रमा राजनीतिक सहमतिलाई लत्याउँदै राज्यले दमनको चक्र चलाउने नीति अख्तियार गरे यसले देशलाई द्वन्दमा धकेल्ने निश्चित रहेको स्पष्ट उल्लेख गरिएको छ । बुधबार युवा सङ्गठन नेपाल मकवानपुरका जिल्ला अध्यक्ष किरण अर्यालद्वारा हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष स्वयमले पेश गरेका थिए ।

यता , युवा सङ्गठन नेपाल म्याग्दीले राज्यसँग गरिएको तीनबुंँदे सहमतिको कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । राज्यले सहमतिलाई कार्यान्वयन नगरेकोले कार्यान्वयनको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाइएको हो ।
युवा सङ्गठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको हो । नेकपा धौलागिरी इन्चार्ज इन्द्र बिक्रम साउँदको नेतृत्वमा युवा सङ्गठन नेपाल म्याग्दीका अध्यक्ष्य नवीन विश्वकर्माले म्याग्दी जिल्ला प्रशासन प्रमुख गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । राज्य आफैँले प्रतिबन्धित बनाएको नेकपालाई राज्य आफैँले तीनबुँंदे मागहरू कार्यान्वयन गर्ने सर्तमा वार्तामा बोलाए पनि उक्त मागहरू हालसम्म कार्यान्वन नभएकोले कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाइएको युवा सङ्गठन म्याग्दीका अध्यक्ष्य नवीन विश्वकर्माले बताए । खुल्ला राजनीतिमा आएसँगै विप्लव नेतृत्वको नेकपाले आफ्ना राजनीतिक गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ । हाम्रा मागहरू राज्यले कार्यान्वयन गर्नुपर्छ, नेकपाको धौलागिरी इन्चार्ज इन्द्र बिक्रम साउँदले जानकारी दिए ।


नेकपा र राज्यबीच भएको तीनबुँदे सहमतिहरूमा पहिलो राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरू तुरुन्त खारेज गर्ने, दोस्रो राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका बन्दीहरूलाई निसर्त रिहाइ गर्ने तथा तेस्रो जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्ने रहेका छन् ।

यसैगरी , गत फाल्गुन २१ गते नेकपा र नेपाल सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवा संगठन नेपाल तनहुँले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासहित जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको छ ।३ बुँदे सहमति कार्यान्वयनको माग सहितको धर्ना कार्यक्रममा संगठनका केन्द्रीय सदस्य नेत्र, युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष दृष्टि लगायत संगठनका जिल्ला कमिटी सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]