नेकपाद्वारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै दबाबमूलक प्रदर्शन

२०७८ आश्विन २० गते, बुधबार



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बुधबार देशब्यापीरुपमा दबाबमूलक प्रदर्शन गरेको छ । सो क्रममा नेकपा दाङले तुलसीपुरमा तीनबुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीनबुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग गरेका हुन् । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकार र आफ्नो पार्टीबीच भएको तीनबुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरे । नेता निर्मलले आफूहरू इमानदारीपूर्वक सहमति अनुसार अघि बढेको तर राज्य सहमतिप्रति इमान्दार नबनेको बताए । उनले सहमति अक्षरस पालना गरि सम्पूर्ण राजबन्दी रिहाइ नगरे आफूहरूले कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।


यस्तै उक्त कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख किरणले तत्कालिन नेकपा (माओवादी) को ४० सुत्रीय माग बेवास्ता गर्दा देशमा जनयुद्ध भएको स्मरण गर्न सरकारलाई चेतावनी दिएका थिए । उनले भने, “हामी हिजोपनि शान्तिपूर्ण ढङ्गले अघि बढ्यौ, आजपनि हामी शान्तिपूर्ण ढङ्गले नै अघि बढ्न चाहान्छौँ ।” तीनबुँदे उल्लङ्घन गरेर आफूहरूसँग भएको सहमतिलाई कार्यान्वयन नगरे देश युद्धको भुमरीमा फस्ने नेता किरणको चेतावनी थियो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न नेता किरणको उद्घोष थियो । सम्पूर्ण नेपाली जनताहरू एमसीसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्न किरणले चेतावनी दिए । एक फरक प्रसङ्गमा नेता किरणले गएराती करिव ९ बजे आफ्ना नेता–कार्यकर्तामाथि मदिरा सेवनले मातिएका केही अराजक समूहले भौतिक आक्रमण गरेको भन्दै त्यसको घोर निन्दा भत्र्सना गर्नुकासाथै अपराधीलाई कारवारही गर्न प्रशासनलाई ध्यानाकर्षण गराएका थिए । कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटीका सदस्य अमरले गरेका थिए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि बुटवलमा दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा र्याली प्रदर्शन समेत भएको थियो । पुष्पलाल पार्कदेखि सुरु भएको र्याली प्रदर्शन पुरानो बसर्पामा गएर कोणसभामा परिणत भएको थियो । र्याली प्रदर्शनमा तीन बुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्धा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई तत्काल रिहा गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवाद स्थापना गरौं !, जनमत सङ्ग्रह घोषणा गर !, कालापानी, लिपुलेकको जनगणना गर !, एमसीसी खारेज गरौं !, दलाल संसदीय व्यवस्था मुर्दावाद !, दलालाहरू होसियार ! लगायतका नाराहरू लगाइएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बुटवल उप–महानगरपालिका सेक्रेटरी विरेन्द्र विकले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति इमानदारपूर्वक तत्काल कार्यान्वयन नभए परिणाम गम्भीर हुने चेतावनी दिए । उनले तीन बुँदेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको तर राज्यले सहमति कार्यान्वयन गर्नुको सट्टा झन् यो वा त्यो बाहनामा सहमतिलाई उल्लङ्घन गर्दै नेकपाका नेता कार्यकर्ताको घरमा पक्राउ पुर्जी टाँस गरेको बताए । विकले तीन बुँदे सहमति पश्चात् आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति, योजना तथा कार्यक्रमहरू शान्तिपूर्वक रुपमा जनताको माँझ लगिरहेको बताए । विकले नेपाली श्रमिक जनताको मुक्ति र चाहना दलाल संसदीय व्यवस्थाबाट सम्भव नरहेको भन्दै जनमत सङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको र यसको अन्त्य नेपाली श्रमिक जनताको विजय हुने बताए । उनले एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती भएको भन्दै यसको विरुद्ध निर्मम सङ्घर्ष आवश्यक भएको बताए । उनले नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रमा जनगणना गर्न सम्बन्धित पक्षलाई अपलि गरेका थिए । यदि नेपाली भूमिमा नेपाली जनताको गणना भएन भने त्यसको परिणाम र सङ्घर्ष निर्मम हुने समेत चेतावनी दिए ।

नेकपाका जिल्ला सदस्य तथा विद्यार्थी नेता पारस राहादी मगरले तीन बुँदे सहमति कार्यान्वयन नहुँदा नेपाली जनतामा राज्यप्रति पैदा भएको भ्रम र आक्रोशको परिणाम गम्भीर हुनेमा दुई मत नभएको बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र नेपाली श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति सम्भव रहेको बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत निर्माण गर्न सबैलाई अपिल समेत गरेका थिए । कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास लगायत नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, सबै जनवर्गीय संगठनकाका नेताकार्यकर्ता, युवा, विद्यार्थी, मजदुर, व्यापार–व्यवसायी, बुद्धिजीवी, सुरक्षाककर्मी, पत्रकार लगायतको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) रुपन्देहीका जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]