मूल्यवृद्धि फिर्ता नलिए सडकमा उत्रिने जागरण मञ्चको चेतावनी

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले मूल्यवृद्धि फिर्ता नलिए सडकमा उत्रिने चेतावनी दिएको छ। मञ्चले विज्ञप्ति जारी गर्दै सरकारले चाडबाडको मुखमा फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको उल्लेख गर्दै एकातिर प्राकृतिक प्रकोप र अर्कोतिर मूल्यवृद्धि हुँदा सरकारको काम नाफा कमाउने, सरकार टिकाउने मात्र रहेको प्रमाणित भएको जनाएको छ । उसले गरी सरकारको मातहतमा रहेको नेपाल आयल निगमलाई तुरुन्त मूल्य घटाउन, अन्यथा चाडपर्वको समयमा पनि सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएको छ ।
राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले गएको मध्यरातमा पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि गरेको छ । सबैलाई थाहा भएको कुरा हो– पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा उपभोग्य वस्तुको मूल्य स्वतः वृद्धि हुने भएकाले कोरोना कहर, वर्षा, बाढीपहिरो, बेमौसमी वर्षाबाट धान खेतीमा भएको क्षतिले आक्रान्त जनताको घाउमाथि मूल्यवृद्धिले नुनचुक लगाउने काम भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘एकातिर प्राकृतिक प्रकोप, अर्कोतिर मूल्यवृद्धि हुँदा सरकारको काम नाफा कमाउने, सरकार टिकाउने मात्र रहेछ भनेर जनताले बुझ्दा अन्यथा नहुने भएको छ । त्यसैले सरकारको मातहतमा रहेको नेपाल आयल निगमलाई तुरुन्त मूल्य घटाउन हाम्रो मञ्च जोडदार माग गर्दछ । अन्यथा चाडपर्वको समयमा पनि सडकमा उत्रिन बाध्य हुनेछौँ । सबै क्षेत्रबाट जनतामा निराशा मात्र पस्किरहेको सत्ता र सरकारको समयमा नै ध्यान जाओस् ।’

प्रतिक्रियाहरु

[anycomment]