नेपाल बन्दका कारण देशभरका सम्पूर्ण क्षेत्र ठप्प : नेकपाका दर्जनौ नेता – कार्यकर्ता गिरफ्तार

काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभर यातायात, उद्योग, व्यापार–व्यवसाय, कलकारखाना र शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र ठप्प भएका छन । यसैक्रमा नेपाल बन्द गरेको भन्दै प्रहरीले युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको छ । काठमाडौँबाट गिरफ्तार भएकाहरुलाई महाराजगञ्जमा राखिएको बताइएको छ ।
यता , काभ्रे जिल्लामा सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । नेपाल बन्द गरेको भन्दै प्रहरीले आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारसहित १४ जनालाई गिरफ्तार गरेको छ ।
यसैगरी पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज बिहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो । बन्दलाई सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एका बिहानै नेकपाका कार्यकर्ताले छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला इञ्चार्ज उमा भूजेलले जानकारी दिईन ।
कास्की जिल्ला इञ्चार्ज भूजेलले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह पनि गरेका छन् ।
यसैगरी, नेपाल बन्दको क्रममा नेकपा कपिलवस्तु सेक्रेटरी कमलसहित कपिलवस्तुबाट डेढ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सेक्रेटरी कमलसहित १२ जना, चन्द्रौटाबाट पावेललगायत ७ जना र गोरूसिंगेबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य बिस्णु राउतलाई प्रहरीले गिरफ्तार गरेको छ ।त्यसैगरी नवलपुरमा विशेष कमिटी सदस्य बिश्वाससहित जिल्ला सदस्यहरू धनबहादुर कुमाल, नरबहादुर कुमाल,सूर्य सापकोटा, दीपक बिक, मानबहादुर कुमाललाई मध्यबिन्दु चोरमाराबाट प्रहरीले गिरफ्तार गरेको छ ।पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि बिरूद्व नेकपाले गरेको नेपाल बन्दको क्रममा कपिलवस्तु, रूपन्देही, नवलपूर, नवलपरासी, पाल्पा, अर्घाखाँची लगायतका यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् ।
नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यबस्तुमा बढाएको चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु बन्द रहेका छन् ।
बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थीलगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् ।