माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे

२०७८ मंसिर ५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे कुरा भएको ठोकुवा गरेका छन । नेता शितलले नेकपा दाङ जिल्लाको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै सो ठोकुवा गरेका हुन्। नेता शितलले भने, माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे कुरा हो ।
आफुहरु सबै कम्युनिस्ट, क्रान्तिकारी, प्रगतिशील र सच्चा लोकतान्त्रिक शक्तिहरुसँग एकता गरि बृहत कम्युनिस्ट एकताको पक्षमा रहेको तर संसदीय व्यवस्था कुनै पनि हालतमा स्विकार गर्न तयार नहुने नेता शितलको जिकिर थियो । उनले भने, `अब हुने संसदीय चुनावमा माओवादी केन्द्र देशभर चुनावी माहोलमा टाट पल्टिने अवस्था देखेपछि एकताको अनावश्यक हल्ला फिजेको छ, कोही पनि भ्रममा पर्नुहुदैन । नेता शितलले आफुहरु एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने अभियानमा रहेको र यो यात्रामा समाहित हुने,एकता गर्न चाहने सबै शक्तिसँग सहकार्य गर्ने बताए ।
विस्तारित बैठकमा पार्टी जिल्ला कार्यालयका सदस्यहरु, पालिकाका इन्चार्जहरु, जनवर्गिय संगठनका जिल्लामा उपस्थित केन्द्रिय सदस्यहरु र जनवर्गिय संगठनका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकले मंसिर ८ गते पार्टीको पुनर्गठन दिवस भव्य रुपले मनाउने निर्णय गरेको छ । पार्टी पुनर्गठन दिवसको सन्दर्भमा पार्टी केन्द्रिय कार्यालयको निर्देशन अनुरुप सार्वजनिक तीन दिने कार्यक्रमहरुलाई भव्य ढंगले सम्पन्न गरि पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने नेकपाले जनाएको छ ।
पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम अन्तर्गत नेकपा दाङले मङ्सिर ६ गते जिल्लाको घोराहीमा बृहत मोटरसाइकल र्याली गर्ने, मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप कविता, लोकगीत, वक्तृत्वकला, ब्याडमिन्टन प्रतियोगिता कार्यक्रमहरू गर्ने, मङ्सिर ८ गते प्रत्येक पालिकामा बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवा मार्च गर्ने, ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको जनाइएको छ ।
नेकपाका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको बैठकमा नेकपा विशेष कमिटी सदस्य विक्रम, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीको आतिथ्यता रहेको थियो भने बैठकको संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]