‘जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्छ ‘

२०७८ मंसिर १२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवाद स्थापनाका लागि शान्तिपूर्ण बाटो जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्ने बताएका छन । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरले शनिबार आयोजना गरेको ‘राजनीतिक समस्याको समाधान ः संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता शर्माले उक्त धारणा राखेका हुन् । उनले वैज्ञानिक समाजवादी अर्थतन्त्रको जगमा टेकेर सञ्चालन गरिने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै जनहितअनुकूलताको राष्ट्रिय संरचना निर्माण गर्नसक्ने बताएका छन् ।
कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, सेक्रेटरी वाटर, बुद्धिजीवी तथा अर्थविद् दीपक शर्मा, नागरिक सरोकार समितिका संयोजक तथा अधिवक्ता केशव गौतम, बौद्धिक मञ्च मकवानपुरका अध्यक्ष तथा बन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्राध्यापक विमलकेसरी पौडेल, वामपन्थी बुद्धिजीवी भरत दुलाल राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौँडाका प्रमुख कृष्ण घिमिरेलगायत अतिथिका रूपमा सहभागी थिए ।
विचारगोष्ठीमा मकवानपुरका साहित्यकार, पत्रकार, शिक्षक, कानुन व्यवसायी, राजनीतिज्ञलगायत विभिन्न तह र तप्काका बुद्धिजीवीहरूको उपस्थिति थियो । कार्यक्रममा सबै अतिथिले मन्तव्य राखेका थिए । उपस्थित अन्य बुद्धिजीवीले आआफ्ना जिज्ञासा राखेका थिए ।
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरका संयोजक गोपीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न विचारगोष्ठीको सञ्चालन सागर कँडेलले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]