सरकार गैरजिम्मेवार र निष्प्रभावी !

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएका छन । अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको तेस्रो लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको ठोकुवा गरेका छन । उनले २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? भनि प्रश्न समेत गरेका छन। अध्यक्ष ओलीले अहिले पनि हजारौं नागरिक अझै खोपबाट बञ्चित रहेकोउल्लेख गर्दै भनेका छन – ‘अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समते उपलब्ध गराउन नसक्नुले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ ।’
यसैगरी, अध्यक्ष ओलीले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनप्रति कडा टिप्पणी गर्दै भनेका छन्,-“गठबन्धन दलहरु नै संवैधानिक र संसदीय बाटोबाट होईन, सडकबाटै न्यायाधीश फेर्नेजस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पंगु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् । ”
यसैगरी, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘निहित स्वार्थपूर्तिका लागि केही नेता र सर्वोच्च अदालतका पदाधिकारीहरूको अवाञ्छित साँठगाँठबाट संविधानको जसरी अपव्याख्या गरियो र त्यही अपव्याख्याको जगमा जसरी वर्तमान गठबन्धन सरकार बन्यो, त्यसका दुष्प्रभाव प्रकट हुन थालेका छन् ।’
अदालतले निश्चित व्यक्तिको स्वार्थपूर्तिका लागि राजनीतिक फैसला गरिदिने र त्यसबापत राजनीतिक नेताहरूले ‘गुन तिर्ने’ अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी क्रियाकलापको मूल्य मुलुकले चुकाउनु परेको उनको टिप्पणी छ । ‘न्यायालयमा चलेको चरम अराजकता र न्यायाधीशहरूको ‘हडताल‘ले संकटकालमा समेत रोक्न नमिल्ने बन्दीप्रत्यक्षीकरणलगायत जनताका मौलिक हक अवरुद्ध भएका छन्, न्यायका लागि वर्षौं प्रतीक्षा गरिरहेका नागरिकहरूलाई छिटो न्याय पाउने अधिकारबाट वञ्चित गरिएको छ,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘गठबन्धन दलहरू नै संवैधानिक र संसदीय बाटोबाट होइन, सडकबाटै न्यायाधीश फेर्ने जस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पंगु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् ।’







