जनता समाजवादी पार्टी पुनः विभाजनको संघारमा

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी पुनः विभाजनको संघारमा पुगेको छ । महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपा केन्द्रीय कार्यकारिणी समितिभित्र चरम अल्पमतमा परेको प्रष्ट देखिएको छ । निरंकुश कार्यशैली, नेताहरूसँग सल्लाह नगरी आफूखुसी निर्णय गर्ने र सीमित जातीय घेरामा मात्र रहने स्वभावका कारण यादव एक्लिएको जसपाका नेताहरूको बयान आएको छ । पार्टी विभाजनअघि ५१ सदस्य रहेको जसपा कार्यकारिणी समितिमा हाल २६ जना सदस्य छन् । २६ सदस्यमध्ये उपेन्द्रको विपक्षमा २० जना पुगिसकेको सोही समितिका एक सदस्यले पुष्टि गरे ।
राष्ट्रियसभा चुनावलगत्तै यो दुई तिहाइ बहुमतको प्रयोग पार्टीभित्र कसरी गर्ने भन्ने टुंगो लाग्ने तयारी भएको बुझिएको छ । बहुमत पक्ष वैशाखमा स्थानीय चुनाव हुने अवस्थामा पार्टीभित्रका कतिपय विवाद थाती राख्ने पक्षमा थियो । तर, सत्ता गठबन्धनको आइतबार बसेको बैठकले वैशाखमा चुनाव नगर्ने सहमति जुटाएपछि अब जसपाको विवादलाई वैधानिक ढंगले हल गर्न उपेन्द्रमाथि दबाब बढाइने नेताहरूको प्रष्टिकरण छ । अहिले जसपामा उपेन्द्र यादवविरोधी खेमाको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका छन् । उनले पार्टी फुटाएरै भएपनि सवल बनाउँने चेतवानी समेत दिँदै आएका छन ।