जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन

२०७८ माघ १३ गते, बिहीबार


काठमाडौं । मधेश प्रदेश सरकारले जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गरेको भन्दै कारवाही गर्न निर्देशन दिएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति निकाली राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधि गर्नेहरुलाई कार्वाही गर्न निर्देशन दिएको उल्लेख गरे ।
घटना छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई राहत उपलब्ध गराउन एवं दोषीलाई कारबाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तिमा भनिएको छ ।
जनमतका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका चिकित्सक डा. सतिश साहलगायतका सवारी साधन तोडफोड गरेका थिए । प्रहरीले भने चुनाव बिथोल्न उत्रिनेका क्रममा पक्राउ परेका जनमत पार्टीका सात जनालाई कानुनी कारवाही अघि बढाउने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]