जनपत्रकार संगठनद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र

२०७८ माघ २४ गते, सोमबार


काठमाडौं । जनपत्रकार संगठन नेपाल मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ। श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारका विविध विषयहरू समाहित गरिएको ८ बुँदे ज्ञापनपत्र सोमबार बुझाएको हो। उक्त ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल मकवानपुरका संयोजक सुर्य बहादुर गोलेको नेतृत्वमा सदस्य प्रल्हाद गौतम सहितको टोलीले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेको हो। संयोजक सुर्य बहादुर गोलेको हस्ताक्षरित ज्ञापनपत्रमा देहाय बमोजिमका विषय वस्तुहरू समावेश गरिएको छ।
१) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चाली कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गरिनुपर्ने।
२) नेपाल सरकारबाट विमाङक रकम हाल्ने गरी श्रमजीवी पत्रकारहरुको नि:शुल्क ५ लाख बराबरको स्वास्थ्य विमा गर्न सम्बन्धित ठाउँमा पहल गरियोस् र त्यस्तो विमा गर्दा सहज र सजिलो प्रक्रियाबाट हुनेगरी सबै पत्रकारहरुमा पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने।
३) महासंघको सदस्यहरूको शुद्धिकरण गर्दै सबै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवार हुँदै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने वातावरण सुनिश्चित गरिनुपर्ने।
४) नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शी गरिनुपर्ने।
५) केन्द्र, प्रदेश र स्थानीय सरकारबाट प्राप्त हुने विज्ञापनहरू महासंघ मार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाहरुले पाउने वातावरण गरिनुपर्ने।
६) पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न विभिन्न तालिम र प्रशिक्षणको व्यवस्था गरिनुपर्ने।
७) पत्रकारहरुमाथि हुने विभिन्न किसिमका दुर्व्यवहार अन्त्य गर्न उचित पहल गरिनुपर्ने।
८) परिचयपत्र भएका क्रियाशील पत्रकारहरु साझा यातायातमा निशुल्क यात्रा गर्न पाउने वातावरण बनाउन पहल गरिनुपर्ने।
ज्ञापनपत्र बुझदै अध्यक्ष मणिराज गौतमले श्रमजीवी पत्रकारहरुको हितमा लिखित उपर्युक्त विषयहरू नेपाल पत्रकार महासंघद्वारा कार्यान्वयन गराउनका लागि आवश्यक सबै कदम चाल्ने बताएका छन्।

प्रतिक्रियाहरु

[anycomment]