एमसीसीविरुद्ध देशभर कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज देशभर कोणसभा गर्ने बताएका छ । उनीहरुले आज अपराह्न ३ बजे देशभर कोणसभा आयोजना गर्न लागेका हुन् भने संसद् बैठक आह्वान गरिएको दिन भोलि बुधबार अर्थात् माघ २६ गते अपराह्न २ बजे नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्ने कार्यक्रम तय भएको जानकारी आन्दोलनको अगुवाइ गरिरहेको नेकपाको केन्द्रीय स्रोतले दिएको छ । आज तीन बजे काठमाडौँ उपत्यकाभित्र काठमाडौँका शान्तिबाटिका, कोटेश्वर, गौशाला, कलङ्की, गोंगबु बसपार्कका साथै ललितपुर र भक्तपुरमा कोणसभा आयोजना गरिनेछ । कोणसभामा ६ दल र २ मोर्चाका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसप्रकारको कोणसभा देशैभर आयोजना गरिने जनाइएको छ ।
त्यसैगरी २६ गते बुधबार माइतीघर मण्डलमा १ बजे केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँबानेश्वर घेराउ गर्न जानेछ । ६ दल र २ मोर्चाले दिउँसो २ बजेदेखि संसद् भवन घेर्दै सम्बोधन गर्नेछन् ।