MCC खारेज अभियानद्वारा राष्ट्रघाती MCC विरोधीहरुलाई विशेष अपिल

काठमाडौँ । MCC खारेज अभियान, नेपालले विगतमा देशको व्यवस्था फेर्ने जन आन्दोलनमा झैं फेरि एक अर्को पटक पनि देशको अवस्था फेर्ने संयुक्त र सशक्त जन आन्दोलनमा समर्पित भएर चरम राष्ट्रघाती MCC सम्झौतालाई खारेज गरी-गराई नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वत्व-अस्तित्वको जगेर्ना गर्नको लागि विशेष अपिल गरेको छ। MCC खारेज अभियान, नेपालका संयोजक नारायण शर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्। विज्ञप्तिमार्फत संयोजक शर्माले आज फागुन १ अर्थात् महान् जनयुद्ध थालनी भएको दिन- जनयुद्ध दिवसका सन्दर्भमा सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जली, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान, घाइते-अपाङ्ग योद्धाहरुप्रति सलामी र सम्बन्धित सम्पूर्ण नेता-कार्यकर्ता र जनसमुदायहरुप्रति न्यानो अभिवादनसहित सम्बन्धित सबैमा २७औं जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन ।
यस बिषयमा MCC खारेज अभियान, नेपालका संयोजक नारायण शर्माले ‘राष्ट्रघाती MCC विरोधीहरुलाई विशेष अपिल ‘ शिर्षकमा
जारी गरेको प्रेसविज्ञप्ति यस प्रकार रहेको छ – “सर्वप्रथम त आज विशेष ऐतिहासिक महत्वको दिन फागुन १ अर्थात् महान् जनयुद्ध थालनी भएको दिन- जनयुद्ध दिवसका सन्दर्भमा सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जली, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान, घाइते-अपाङ्ग योद्धाहरुप्रति सलामी र सम्बन्धित सम्पूर्ण नेता-कार्यकर्ता र जनसमुदायहरुप्रति न्यानो अभिवादनसहित सम्बन्धित सबैमा २७औं जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं !
आदरणीय जनसमुदायहरु,
नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर सुरु भएको र दस बर्षको भीषण जनयुद्धपछि प्राप्त गणतान्त्रिक मुलुक हाम्रो प्यारो देस नेपालमा फेरि अहिले MCC रुपी कालो बादल मडारिइरहेको छ !
आज सर्वाधिक राष्ट्रघाती यो MCC संझौताकै कारण देस इतिहासमै अत्यधिक गम्भीर, संवेदनशील र सङ्गीन मोडमा पुगेको छ । पछिल्ला दिनहरुमा अमेरिकी सहायक विदेसमन्त्री डोनाल्ड लूले फोनबाटै देसका ठुला दलका अध्यक्ष एवं वर्तमान र भूपू प्रधानमन्त्रीहरुलाई समेत दिएको धम्कीसम्म आउँदा कथित अनुदान सम्झौता र यसभित्रको अमेरिकी साम्राज्यवादी नीति, नियत र रहस्य पूर्णत: उदाङ्गो भएको छ । यसले सामान्य देसभक्त, स्वाभिमानी, स्वतन्त्र र सचेत नागरिक, संघसंस्था, राजनीतिक दल र नेताहरु तथा कूटनीतिक क्षेत्रलाई समेत थप उद्वेलित र तरङ्गित मात्र होइन, अझ बढी गम्भीर र जिम्मेवार भएर सोंच र गर्न बाध्य बनाएको छ । एकातिर स्थिति यस्तो छ भने अर्कातिर देसभित्रकै सत्तासीन दलाल शक्ति र व्यक्तिहरुलाई साम्राज्यवादसामु झन्झन् लम्पसार पर्ने निहुँ पनि यही धम्की बनिरहेको छ ! यो अवस्थामा देस इण्डो-पश्चिमा शक्तिको गुलाम बनेर नेपाल र नेपालीले तिनको गुलामी गर्दै सलामी गर्ने कि तिनको मलामी बन्न आँट गरेर पूर्ण औपनिवेश बनाइँदै गरेको देसलाई पूर्ण स्वाधीन बनाउने भन्ने अहं प्रश्न हाम्रो सामुमा खडा भएको छ । स्पष्ट छ कि हालसम्म अर्ध र नव उपनिवेश बनिरहेको नेपाललाई पूर्ण स्वाधीन र सार्वभौम राष्ट्र बनाउनु नै यो प्रश्नको सही, दीगो र दह्रो हल हो ! यो प्रश्न हल गर्ने तरिका भनेको राष्ट्रघाती MCC विरुद्ध बृहत् र व्यापक संयुक्त जन आन्दोलनको बाटो अवलम्बन गर्नुनै हो । यसै बाटोबाट MCC सम्झौता पूर्ण रुपले खारेज गराउनु नै अहिले हामी देसका सबै सच्चा सपुतहरुको भूमिका र दायित्व पनि हो । त्यसैले MCC खारेज अभियान,नेपालका तर्फबाट सम्बन्धित सबैलाई हामी यो विशेष अनुरोध र अपिल गर्न चाहन्छौं कि :
१. MCC संगको नेपालको यो सम्झौता नेपालको सम्पत्ति, स्वाधीनता, स्वत्व र अस्तित्व लुट्ने; चीन-रुस-उत्तर कोरिया आदि हाम्रा स्वाभिमानी मित्रराष्ट्रहरुलाई चुट्ने; दक्षिण एसियाली शान्ति, लोकतन्त्र र मानव अधिकारको मानमर्दन गर्ने र अन्ततः उदीयमान विश्वशक्ति भारतलाई पनि बृटिश उपनिवेशबाट मुक्त भएको १०० बर्ष पुग्दानपुग्दै भुट्ने र भाट्ने गरेर “पुनर्मुसिको भव:” को रुपमा पुराउने अमेरिकी गुरुयोजना लुकेको सम्झौता हो भन्ने कुरामा अब कसैलाई पनि कत्ति शंका रहेन । तसर्थ यसलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरबाटै विरोध, अवरोध र प्रतिरोध गरिनु नै यसबाट पार पाउने एकमात्र विकल्प भएको हुँदा त्यसको निम्ति सम्बन्धित सबै पक्षहरु उठौं, जुटौं र डटौं !
२. नेका, एमाले, मधेसवादी र राप्रपाजस्ता संसदीय सत्ता-व्यवस्थाका सच्चा पक्षपाती र पहरेदार भनिएका दक्षिणपन्थी संसदवादी शक्तिहरु भित्रका सबै देसभक्त र राष्ट्रवादीहरुलाई आआफ्नो पार्टीभित्र MCC सम्झौतालाई संसदमा पेस र पास नगर्न आआफ्ना नेतृत्वलाई दवाव दिएर देसलाई दमनकारी दुनियाँ (हिन्द-प्रशान्त रणनीति र नाटो नीति मातहतको संसार) द्वारा गरिने दमनकारी दुश्चक्रबाट उम्काउनको लागि तीव्र संघर्ष गरौं ।
३. सत्तासीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूरै पार्टीलाई MCC सम्झौता खारेजको लागि खुलेर बोल्न, अडेर चल्न र डटेर लड्नको लागि सडकमा ओर्लेर जनयुद्धकालीन जोश र होश तथा जिम्मेवारी र इमान्दारी प्रदर्शन गर्नका लागि त्यसभित्र र बाहिरका नेतृत्व र व्यक्तित्वहरुले वफादारीपूर्वक बल गरौं !
४. अहिलेसम्म MCC सम्झौता विरुद्धमा एक्लाएक्लै बोलिरहेका र लडिरहेका नेमकिपा लगायतका राजनीतिक शक्ति, संघसंस्था, समूह, संगठन र अभियान आदि सबैले संयुक्त भएर संघर्ष गरी राष्ट्रघाती MCC सम्झौता खारेज गर्ने-गराउने आफ्नो अहिलेको यो अभीष्ट पूरा गरौं !
५. बाँकी विभिन्न बौद्धिक व्यक्तित्व र विज्ञ-विशेषज्ञ आदि सबैका सबैले संयुक्त भएर सडक संघर्षमा समेत सहभागी भएर संघर्ष सशक्त पार्दै आफ्नो यो संघर्षलाई पूर्ण सफल र सार्थक बनाऔं !
६. संयुक्त भएर पनि दुई भिन्नाभिन्नै मोर्चा बनाएर आन्दोलन गरिरहेका तर आन्दोलन त्यति बृहद र व्यापक बनाउन अनि प्रभावकारी र परिणाममुखी पार्न नसकिरहेका MCC विरुद्धका मोर्चाहरुले पनि राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग सम्बन्धित यस मुद्दामा आआफ्ना आग्रह-पूर्वाग्रह; पूर्ववर्ती मति, नीति र गति अनि संकीर्ण सोंच र संस्कारभन्दा माथि उठेर अझ गम्भीर र जिम्मेवार भई एकीकृत, वृहत् र व्यापक जन आन्दोलन निर्माण गरौं !
७. एकीकृत समाजवादी पार्टी सरकारमा सामेल रहेरै पनि सडकमा ओर्लेर विरोध गर्ने प्रकृयामा गएको कदमलाई हामी हार्दिक स्वागत र समर्थन गर्दछौं । साथै, आफ्नो सत्ताधारी पार्टी र गठबन्धनबाट MCC सम्झौता अध्ययन कार्यदलको नेतृत्व गरिरहनु भएका आदरणीय देसभक्त र राष्ट्रप्रेमी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरुले पनि आफ्नो पार्टीको आन्दोलनको मात्र होइन कि पूरै देसभरका MCC सम्झौता विरुद्धका सम्पूर्ण आवाज र आन्दोलनहरुलाई एकीकृत र केन्द्रीकृत गरेर वा MCC विरोधी विभिन्न आन्दोलनकारी शक्ति र आन्दोलनहरुलाई यो आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पुराउने गरी आवश्यक संयोजन, तालमेल, सहमति आदि कायम गर्ने जिम्मेवारी बोध र बहन गरौं !
देसको माया-ममता गर्ने, मूल्य-महत्वबोध गर्ने र आवश्यकता आत्मसात गर्ने अनि देसलाई सुन्दर, शान्त, समान, समृद्ध र सुखी बनाउने, बचाउने र बढाउने मुख्य चालक शक्ति अन्ततः महान् देसभक्त जनसमुदायहरु नै हुन् । त्यसैले सम्पूर्ण जनसमुदायहरुलाई विगतमा देसका व्यवस्था फेर्ने जन आन्दोलनमा झैं फेरि एक अर्को पटक पनि देसको अवस्था फेर्ने संयुक्त र सशक्त जन आन्दोलनमा समर्पित भएर चरम राष्ट्रघाती यो MCC सम्झौतालाई खारेज गरी-गराई नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वत्व-अस्तित्वको जगेर्ना गर्नको लागि MCC खारेज अभियान, नेपालको तर्फबाट हामी हार्दिकतापूर्वक विशेष अपिल गर्दछौं ।”
