अमेरिकाद्वारा एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने चेतावनी

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अरु कुनै तेस्रो देशको प्रभाव र नेपालमा ब्याप्त भ्रष्टाचारका कारण एमसीसी सम्झौता पारित गर्न ढिलाई भईरहेको भन्दै त्यसो हुनु दुर्भाग्यपूर्ण भएको बताए ।एमसीसी अनुमोदन नहुनु नेपाल र नेपाली जनताका लागि ठूलो क्षतिको विषय हुने पनि उनको दावी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी बोर्डलाई पत्र लेखेर सम्झौता अनुमोदनका लागि मागेको समय पूरा भएको भन्दै उक्त अवधिभित्र सम्झौता अनुमोदनका लागि अमेरिकाले औपचारिक र अनौपचारिक रुपमा नेपालको नेतृत्वलाई सूचित गरिसकेको पनि उनको भनाइ छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी परियोजनाविरुद्ध नेपालमा भ्रमपूर्ण सूचना फैलाउन चीनले लगानी र प्रोत्साहन गरेको समेत बताए ।