‘एमसीसी संसदबाट कुनै पनि हालतमा पास गर्न दिदैनौ ‘

काठमाडौंं । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्नेतले देशको रक्षा गर्ने कसम खाएकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन । गत बुधबार पूर्व सुरक्षाकर्मी परिषद नेपालले एमसीसीका विरुद्ध राजधानीमा आयोजना गरेको ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै बस्नेताले उक्त कुरा बताएका हुन् । देश चलाउने नेताहरु, अत्याचार नगर्नुहोस, नेपाली जनताले झुण्डाउने छन्, भन्दै सहायकरथी बस्तनेतले सुरक्षाकर्मीको मुख्य प्रण भनेकै देश र जनताको रक्षा गर्नु रहेको बताए । देशलाई संकट परेका बखत बन्दुक त केही होइन जस्तोसुकै तल्लो स्तरमा गएर पनि देश र जनातको रक्षा गर्ने उनको भनाई थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सुरक्षाकर्मीसँग बल तथा हतियारको ज्ञान भएको र कानुन व्यावसायीसँग कलम भएकाले यदी दुबै मिल्ने हो भने जस्तोसुकै भ्रष्टाचारीलाई पनि कारवाही गर्न सकिने धारणा व्यक्त गरे । ‘सुरक्षाकर्मी साथीहरु, आउनुहोस तपाई हामी मिलेर एकहजार भ्रष्टाचारीहरुलाई जेल हार्लौ’ भन्दै बरिष्ठ अधिबक्ता न्यापानेले भने – ‘सिंगापुर बनाउँछु भन्ने नेताहरुले देशलाई सिंगानपुर बनाए, नयाँ नेपाल बनाउने भन्दै झनै पुरानै तिर धेकेलेको हुँदा आउनुहोस् देश बचाउने काममा सहभागी बनौं ।’
अर्का बरिष्ठ अधिबक्ता तथा नेपालका लागि नेपाली नाममा संस्थाका संस्थापक डा सुरेन्द्र भण्डारीले विदेशीका सामु नेपालका नेताहरुले घुँडा टेकेको हुँदा अव देश जोगाउने जिम्मेवारी पूर्व सुरक्षाकर्मीको काँधमा आएको बताए ।
कार्यक्रममा पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय अध्यक्ष कोमलबहादुर राउत, केन्द्रीय सदस्यहरु काशीराम अधिकारी, विक्रम पाण्डेलगायतका बक्ताहरुले एमसीसीको लालिपप देखाएर अमेरिकाले नेपाल र नेपाली माथि दमन गर्न खोजेको आरोप लगाएका थिए । एमसीसी मार्फत आउने सहयोग चाहिदैन भन्दा भन्दै पनि अमेरिकी विदेश मन्त्रीले शीर्ष नेताहरुलाई धम्काउने कार्यले पनि यसमा केही गलत भएको अनुमान लगाउन सकिने उनीहरुको धारणा थियो । माइतीघर मण्डलाबाट सुरु भएको ¥याली व्याण्ड, शंंखघोससहित महानगरका विभिन्न क्षेत्र हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, व्रिटिस आर्मी, भारतीय सेना तथा सिंगापुर पुलिसबाट अवकास प्राप्तहरुको सहभागिता रहेको थियो । एमसीसी तत्काल नरोकिए विभिन्न जिल्लाहरुबाट पनि आन्दोलन जारी राख्ने परिषदले जनाएको छ ।