एमसीसी टेबुल र सरकारी दमनविरुद्ध देशभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीलगायत ६ राजनीतिक पार्टी र दुई मोर्चाले पाँचदलीय गठबन्धनको देउवा सरकारले सदनमा एमसीसी प्रस्ताव टेबुल गरेको र आन्दोलनकारीमाथि गोली प्रहारसहित क्रूर दमन गरेको विरोधमा आइतबार साँझ देशव्यापी मशाल जुलुस प्रदर्शन गरेको छ । ६ राजनीतिक पार्टी र दुई मोर्चाले काठमाडौंको कोटेश्वर , चाबहिललगायत भक्तपुर र ललितपुरका मुख्य चोकमा मशाल जुलुस प्रदर्शन गरेको बताइएको छ । सरकारले आज एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका दलका नेता–कार्यकर्तामाथि गोली, अश्रुयाँस र पानीको फोहोरा प्रहार गर्दा सयौँ प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । आन्दोलनकारी दलहरूका अनुसार घाइतेहरूको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।