अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा रुस र युक्रेनको युध्द रोक्न आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुस र युक्रेन बीचको जारी युध्द रोक्न र युक्रेनी जनताको मानवअधिकारको रक्षा गर्न अपिल गर्दै पूर्वी युरोपका देशहरूमा शान्तिपूर्ण वातावरण सृजना गर्न आह्वान गरेको छ। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।
यस बिषयमा अध्यक्ष केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि विश्व राजनीतिक क्षितिजमा ठूलो तरंग पैदा भएको छ र सन्त्रास फैलिएको छ । जसका कारण युक्रेनका सर्वसाधारण जनता हताहत मात्र भएका छैनन् कि लाखौं युक्रेनी नागरिकहरु देश छोडेर शरणार्थी बन्न बाध्य भएका खबरले हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण भएको छ ।
हाम्रो संगठनले रुस र युक्रेनका बीचमा युध्द हुनुमा अमेरिकी साम्राज्यवाद नै मुख्य कारक रहेको ठहर गरेको छ । अमेरिकी साम्राज्यवादले युक्रेनलाई विविध विषयमा सहयोग रहने आश्वासन दिदै रुससित भिड्न उक्साउने , युक्रेनलाई नाटो सैनिक संगठनमा आबद्ध हुन प्रेरित गर्ने जस्ता षड्यन्त्रपूर्ण कार्य गरेकै कारण रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको देखिएको छ । अर्थात् अमेरिकी साम्राज्यवादको साम्राज्यवादी नीति र अहंकारका कारणले रुस र युक्रेनका बीचमा युध्द हुन पुगेको हो भन्ने हाम्रो संगठनको विश्लेषण र संश्लेषण रहेको छ र शान्ति वार्ताद्वारा युध्दरत् रुस र युक्रेन बीचको जारी युध्द रोकियोस् र युक्रेनी जनताको मानवअधिकारको रक्षा गर्न हार्दिक अपिल गर्दै पूर्वी युरोपका देशहरूमा शान्तिपूर्ण वातावरण सृजना गर्न हार्दिक आह्वान गरिन्छ । “