एमसीसीविरुद्ध जनप्रदर्शन र बिरोध सभा : नेकपाका महासचिव विप्लवसहित बिभिन्न राजनीतिक पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने

२०७८ फाल्गुन २० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आज बिशाल जनप्रदर्शन र बिरोध सभा आयोजना गरेका छन् । काठमाडौँको खुलामञ्चमा हुने उक्त जनप्रदर्शनपछिको बिरोध सभालाई नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले सम्बोधन गर्दैछन् । एमसीसीले संसद्‌वादी दलहरूबीच नै खैलाबैला मच्चाएर विभाजनतिर डोहोर्याइरहेको समयमा राष्ट्रिय स्वाधीनताको आन्दोलनको नेतृत्व गर्दै आएका यी ६ दलले दलले एमसीसी खारेजीका लागि आह्वान गर्दै आज मध्याह्न विशाल प्रदर्शन र विरोधसभा आयोजना गरेका हुन् ।
माओवादी केन्द्र, एमाले, एकीकृत समाजवदी, जसपा, लोसपालगायत सबै संसद्‌वादी दलभित्र एमसीसीका विषयमा फरक मत र सङ्घर्ष जारी छ । ती दलभित्रका तुलनात्मक रूपमा राष्ट्रवादी र देशभक्तहरूले एमसीसी पारित गर्ने कार्यको विरोध गरिरहेका छन् भने कतिपय पार्टीका नेता–कार्यकर्ता र विद्रोह गर्दै क्रान्तिकारी–देशभक्त पार्टीमा ध्रुवीकृत हुन सुरु गरिसकेका छन् । राजमो, नेमकिपा, राप्रापालगायत दलले एमसीसीका विपक्षमा मत व्यक्त गरेका छन् ।
संसद्‌वादी दलहरूले एमसीसीमा संसद्‌बाटै राष्ट्रघात गरेपछि ६ राजनीतिक पार्टी, २ मोर्चा र सिङ्गो देशभक्त जनसमुदाय आन्दोलित भइरहेको समयमा आज काठमाडौँमा व्यापक प्रदर्शनसहित विशाल विरोधसभा आह्वान गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]