‘एमसीसी नेपाललाई सङ्कटतिर धकेल्ने अमेरिकी डिजाइन ‘

२०७८ फाल्गुन २४ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले एमसीसी सम्झौता नेपाललाई सङ्कट तिर धकेल्ने अमेरिकी डिजाइन भएको ठोकुवा गरेका छन । कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा ‘राष्ट्रघाती एमसीसी सम्झौता त्यसको प्रभाव र राष्ट्रियता’ बिषयक अन्तरक्रिया कार्यक्रममा नेता पुनले सो ठोकुवा गरेका हुन्। नेता पुनले एमसीसी सम्झौता अनुदान मात्र नभई यो नेपालका प्रकृतिक स्रोत साधनलाई दोहन गर्ने, देशको राष्ट्रिय राजनीतिमाथि हस्तक्षेप बढाउने, नेपालको रीति संस्कृतिमाथि हमला गर्ने, देशमाथि वैदेशिक नीति लाद्ने र देशलाई नै अस्थिरताको सङ्कट तिर लैजाने अमेरिकी डिजाइन रहेको बताएका छन् । उनले भने, “अहिलेको असफल संसदीय सत्तामा रहेका केही निहित दलाल र एजेन्टहरूले जसरी देशको राष्ट्रियता स्वाभिमानलाई यो परियोजनामार्फत विदेशीको पाउँमा बुझाउने प्रयास गरेका छन्, यसलाई नेपाली जनता र हामी सच्चा क्रान्तिकारीहरूले कदापी सफल हुन दिने छैनौँ । जसरी अहिले सत्ता गठबन्धनमा रहेका देउवा, प्रचण्ड र माधबहरूले आफ्नो राजनीतिक सङ्कट टार्नका लागि जुन व्याख्यात्मक घोषणाको भ्रम दिएका छन् । वास्तवमा यो व्याख्यात्मक घोषणा नभई राजनीतिक सौदाबाजीको घोषणा रहेको नेता पुन बताउँछन् । पछिल्लो घटनाक्रम नियाल्दा जसरी नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति त्यागेको, युद्धमा रहेको राष्ट्र युक्रेनलाई साथ दिनु लगायतका यस्ता घटना हाम्रो देशमा देखा पर्नु एमसीसीमार्फत अमेरिकी नीति लागू भएको उनको ठहर छ ।
यसैगरी एमसीसी सम्झौता सम्बन्धी मन्तव्य राख्ने क्रममा नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरी सुवेदीले देशको अहितमा रहेको राष्ट्रघाती एमसीसी सम्झौतालाई जनस्तरबाट खारेज गर्नुपर्नेमा जोड दिए । संसदवादी पार्टीका दलालहरूले राष्ट्रका विरुद्ध लज्जास्पद तरिकाले राष्ट्रघात गरेको बताउँदै अब यो राष्ट्रघातको विरुद्ध देभक्त नागरिक, बुद्धिजीवी विश्लेषक, शिक्षक प्राध्यापक सबै एक ठाउँमा उभिएर देशको माटो रक्षाका लागि लाग्नु पर्ने नेता सुवेदीले बताए । त्यसैगरी टिप्पणीकारका रुपमा सहभागी बौद्धिक व्यक्ति तथा प्राध्यापक खेमलाल घिमिरेले विगतमा काँग्रेसले नेपाली जनतालाई छलेर जसरी अनेकौँ सन्धि सम्झौताहरू गरेको थियो त्यसैगरी अहिले पनि फेरि अर्को राष्ट्रघात गरेको छ । यसको विरुद्धमा पार्टी, व्यक्ति विचार वा सिद्धान्तलाई भन्दा पनि राष्ट्रियताको सवाललाई केन्द्रमा राखी सबै एकठाउँमा आई सडक आन्दोलन र जनताको जनबलबाट उक्त एमसीसी सम्झौता खारेज गर्नुपर्ने उनले बताए । त्यस्तै अर्का टिप्पणीकार अखिल नेपाल शिक्षक सङ्गठनका कञ्चनपुर जिल्ला अध्यक्ष तथा शिक्षक ओम प्रकाश जोशीले भने सबै कोणबाट, तथ्य र प्रमाणबाट राष्ट्र र जनताको विरुद्ध रहेको साबित भएको एमसीसी सम्झौता जबर्जस्त तरिकाले संसदबाट अनुमोदन हुनु अनुचित रहेको बताउँदै यसका विरुद्ध डटेर जनसङ्घर्ष गर्नु नै अहिलेको विकल्प रहेको उनको भनाइ छ । उक्त सम्झौता खारेज गर्नु आफूहरूले जुनसुकै स्तरको मूल्य चुकाउनु परे पनि तयार रहेको तर राष्ट्रिय स्वाधिनता माथि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने दृढता उनले व्यक्त गरे ।” त्यसैगरी अन्य सबै सहभागीहरूको मनोभाव र आक्रोश पनि एमसीसी सम्झौता जसरी पनि खारेज हुनुपर्छ भन्ने थियो ।

नेकपा (क्रान्तिकारी) माओवादीका कञ्चनपुर अध्यक्ष कैलाश जैसीको अध्यक्षता र नेकपा जिल्ला सचिव जीवन परियारको सञ्चालनमा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन रहेका थिए भने अन्य ६ दल २ मोर्चाका नेताहरू, बुद्धिजीवी विश्लेषक, शिक्षक प्राध्यापक र संघ सङ्गठनसँग आबद्ध व्यक्तित्वहरू अतिथिका रुपमा सहभागी रहेका थिए । अन्तरक्रियामा अन्य युवा विद्यार्थीहरू राजनीतिक पार्टीसँग आबद्ध कार्यकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]