एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरले बिहिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा अवस्थित विभिन्न क्याम्पसका विद्यार्थीहरुको सशक्त सहभागिता रहेको छ। प्रत्येक क्याम्पसबाट छुट्टाछुट्टै व्यानरमा विरोध प्रदर्शन सहितको र्याली निकालिएको हो। मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माविबाट निकालिएको र्याली नगरपालिका रोड, मानस चोक, चौकिटोल हुँदै बुद्ध चोक पुर्याइएको हो भने हेटौँडा क्याम्पस र भूटनदेवी माविबाट निकालिएको र्याली स्कुल रोड, सीमा चोक हुँदै बुद्ध चोकमा पुर्याएको हो।
त्यस्तै अन्य क्याम्पस तथा विद्यालयबाट सशक्त रुपमा बुद्ध चोकमा केन्द्रित भएको र्याली राप्तिरोड, जिल्ला प्रहरी कार्यालय मार्ग, बसपार्क हुँदै पुन बुद्ध चोकमा केन्द्रित भएको हो। र्यालीमा सहभागी सयौं विद्यार्थीहरुले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन, रिजेक्ट एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर, महँगी कालोबजारी बन्द गर, निशुल्क शिक्षा लागू गर, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर, शिक्षा क्षेत्रमा भएको व्यापारीकरण बन्द गर, शैक्षिक माफिय होसियार भन्ने जस्ता अनेकौं नाराहरू लगाइएका थिए। बिहान दश बजे बागमती प्रदेशको राजधानी हेटौंडाको केन्द्रबिन्दु बुद्ध चोकमा केन्द्रित भएको विरोध प्रदर्शन सहितको र्याली कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला इन्चार्ज विवेक घलानले विगत लामो समयदेखि राष्ट्रघाती एमसिसी समझौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध सच्चा देशभक्त, राष्ट्रप्रेमी एवम स्वाधीन नागरिकले गरेको सडक आन्दोलन र आवाजलाई लत्याउँदै दलालहरुले संसदबाट रातारात गरेको एमसिसी सम्झौताको व्याख्यात्मक अनुमोदन र दिनप्रतिदिन जनताको ढाड सेकिने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको र अब अखिल (क्रान्तिकारी) यसको विरुद्धमा सशक्त ढंगले उत्रने बताए। राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देश र जनताको हितमा काम गर्ने सपथ ग्रहणका साथ सत्तासीन गरेको सरकारलाई देश र जनताको हित विपरित कुनै पनि कदम चाल्ने छुट नहुने भन्दै अब भ्रष्ट, दलाल र देशद्रोही जोकोहीलाई पनि अखिल (क्रान्तिकारी)ले कारवाहीको दायरामा ल्याउने बताए। एकताको डोरीमा बाँधिएका अनेक नेपाली नागरिकहरुको बीचमा दुस्मनी हाल्दै फाटो ल्याउन र स्वाधीन एवम स्वतन्त्र नेपाल आमालाई गिजोल्दै आफ्नो काबुमा राख्न गिद्दे आँखा र दानव रूपी नङ्ग्रहरु लिएर आएको एमसिसी सम्झौता तत्काल खारेज गर्न जोडदार माग गरेका छन्। अन्यथा नेपाली भूमि रणमैदान बनाउन नदिन अखिल (क्रान्तिकारी) जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत दिए।
यसरी सयौं विद्यार्थीहरुको सहभागितामा भएको कोणसभा कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका कोषाध्यक्ष सुबास तामाङले गरेका थिए।साथै आम नेपाली विद्यार्थीहरुको हक, हित र अधिकारको माग सहित राष्ट्रघाती एमसिसी सम्झाैता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको माग गर्दै हेटौंडाको सडक, चोक र गल्ली गल्लीमा उत्रेका सयौं विद्यार्थीहरुको मास सशक्त र शान्तिपूर्ण ढंगले कार्यक्रम सफल पार्दै फर्केका थिए। – सुर्यबहादुर गोले