अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनद्वारा एमसीसीविरुद्ध सभा

२०७८ फाल्गुन २७ गते, शुक्रबार


काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको संयुक्त मोर्चाले एमसीसीविरुद्ध रूपन्देहीमा प्रदर्शन र सभा आयोजना गरेका छन् । विरोधसभामा सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय कोषाध्यक्ष रूपा बुढामगरले सत्ता गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट चोर बाटो हुँदै पारित गरे पनि यसलाई कुनै हालतमा कार्यान्वयन हुन नदिने बताउँदै एमसीसीका विरुद्धमा विद्यार्थीले निरन्तर सङ्घर्ष गर्ने बताइन् । उनले देशमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीको मार नेपाली जनताले भोग्नु परिरहेको अवस्थामा राष्ट्रियता र स्वाधीनताका पक्षमा पनि आन्दोलन जारी रहने बताइन् ।
अखिल छैटौँका केन्द्रीय सचिव सरोजमान सिंहले राज्यले नेपालमा साम्राज्यवादी कानुन जबर्जस्ती लाद्न खोज्दै नेपालको संविधानलाई प्यारालाइसिस बनाउन खोजेकाले यो राष्ट्रघाती एमसीसी सम्झौता सह्य नहुने बताइन् ।
क्रान्तिकारीका दिलबहादुर चुँदाराले राष्ट्रघाती एमसीसीविरुद्धको आन्दोलनमा विद्यार्थीहरू महत्वपूर्ण भूमिका रहेको र यसका विरुद्ध आन्दोलन जारी रहने बताए । वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका दीपेशराज कँडेलले एमसीसीविरुद्ध देशभरका विद्यार्थी सङ्गठनले एमसीसी नेपालबाट खारेज नहुँदासम्म निरन्तर आन्दोलन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) रूपन्देहीका उपाध्यक्ष पारस राहादीमगरले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]