संयुक्त किसान सङ्गठनद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । संयुक्त किसान सङ्गठन दाङले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । दाङको लमहीमा नेकपानिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत दल–मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको बिरोधमा प्रदर्शनसहित सभा सम्पन्न भएको हो । बिरोध सभालाई संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरेका थिए । बिरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पञ्चाराम नेपालीले राष्ट्रघाती एमसीसी सम्झौताले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनतामा गम्भीर खलल पुर्याउने काम गरेको बताएका थिए । उनले केही अर्बको लोभमा राष्ट्रलाई कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाई स्वीकार्य नहुने उद्घोष गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्तासमेत रहेका नेपालीले जनताको तागतमा एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका थिए । इतिहासमा कसैको गुलाम नबनेको देशलाई अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने सपना देखेका बिदेशी दलालहरूलाई जनताले हिसाबकिताब गर्नेसमेत उनको चेतावनी थियो । एमसीसीलाई निसर्त खारेज गर्नुनै उत्तम हुने भन्दै उनले जबर्जस्त नेपाली जनताको टाउको एमसीसी लाद्न खोजे भयङ्कर ठूलो बिद्रोह हुने चेतावनीसमेत दिएका थिए ।
सभालाई नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल भूमिहीन किसान सङ्गठन लुम्बिनी प्रदेश संयोजक तिलक बिक र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेलले सम्बोधन गरेका थिए ।
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आयोजित बिरोध सभाको सहजीकरण अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला सचिव बिष्णु सुबेदीले गरेका थिए ।