एमसीसी सम्झौताविरुद्ध देशब्यापी प्रदर्शन र सभा

काठमाडौं। सरकारले संसदबाट एमसीसी पारित गरेको विरोधमा ६ राजनीतिक पार्टीनिकट र २ मोर्चाले देशव्यापी संघर्ष जारी राखेका छन । यसैक्रममा शुक्रबार काठमाडौँको शान्तिबाटिकामा विरोध सभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा र जातीय समता समाजकाे आयाेजनामा एमसीसी पारित भएको विरोधमा प्रदर्शनसहित विरोध सभा भएको थियो । कार्यक्रममा एमसीसी सम्झौतासहित दलित समुदाय माथि भएका विभिन्न प्रकारका उत्पीडन र विभेदका विरुद्ध समेत वक्ताहरुले विरोध मन्तव्य राखेका थिए । वक्ताहरुले एमसीसी नेपालको हितमा नभएको र यसले राष्ट्रिय स्वाधीनतामाथि खतरा पुर्याउनेमा जोड दिए । नेपाली जनताको भावना विपरित साम्राज्यवादका दलालहरुले हतियारको बलमा जबर्जस्ती एमसीसी लागू गर्न खोजे जनताले प्रतिकार गर्ने श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय महासचिव त्रिलोचन लोहारले बताए ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक अमर परियारले एमसीसीले मात्रै नेपालको विकास सम्भव हुन्छ भन्ने नेपालका दलालहरु महाकाली सम्झौता गर्दा पनि बर्षेनी अरबौं आम्दानी हुन्छ भनी जनतालाई यस्तै भ्रममा पारेर राष्ट्रघाती काम गरेको स्पष्ट गरे । जात व्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय सदस्य रुपा सुनारले राष्ट्रघाती सम्झौता र विद्यमान जातीय छुवाछूत अन्त्यका निम्ति दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए । त्यसैगरी जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजु विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष राजेश विक लगायतले विभिन्न सन्धि सम्झौताका नाममा आफ्नो व्यक्तिगत स्वार्थमा देशलाई साम्राज्यवादीको गुलाम बनाउन खोज्ने दलालहरुबाट नेपाली जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षा नहुने भएकोले सम्पूर्ण देशभक्त जनता एकजुट भएर संघर्षमा जुट्नुपर्ने बताए । कार्यक्रममा सामाना सांस्कृतिक परिवारका केन्द्रीय कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव भक्त विश्वकर्माले गरेका थिए । यस किसिमको विरोध सभा आज देशभर सम्पन्न भएको छ ।
यसैगरी, श्रमिक समुदाय मोर्चा नेपालको आयोजनामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा शुक्रबार बिरोध प्रदर्शन तथ सभा कार्यक्रम सम्पन्न भएको छ । जाजरकोट, कालीकोट र हुम्ला जिल्लाम क्रमश : मोर्चाका केन्द्रीय समिति सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक ध्रबिन्द्र बिक, केन्द्रीय सदस्य सरोज र रामबहादुर बिकले छुट्टाछुट्टै सम्बोधन गरेका हुन् ।
जाजरकोटको बिरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै ध्रबिन्द्र बिकले विभिन्न राष्ट्रघाती परियोजनाहरू भित्र्यायर देश र जनताको अस्तित्वमाथि वैदेशिक हस्तक्षेप खुलमखुल्ल लाद्ने र कमिसनले विलासी जीवन जिउने दलाल संसदीय व्यवस्थाको मुल चरित्र भएको बताए । उनले वर्णश्रम जात व्यवस्थाको कुसंस्कारलाई सामाजिक कला, सीप, रचना, आविष्कार र निर्माण जस्तो महत्वपूर्ण कार्यमा संलग्न श्रमिक समुदायलाई जन्मजात अछुत भन्ने सामन्ती संस्कारलाई यथावत राखेको पुँजीवादले वैदेशिक हस्तक्षेपलाई प्रश्रय दिएर थप उत्पीडन गर्नु भनेको दलाल पुँजीवाद आधुनिक विभेद उन्मुख देखिएको समेत प्रष्ट्याए । उनले सम्पूर्ण श्रमजीवी वर्ग सम्प्रदाय जनघात, राष्ट्रघात र जातीय उत्पीडनका बिरुद्ध सशक्त भएर सङ्घर्ष गर्न एकीकृत जनक्रान्तिमा लाम्बद्ध हुन अपिलसमेत गरे । वैज्ञानिक समाजवाद बाहेक अरू कुनै सामाजिक सत्ता र चिन्तनले श्रमिक समुदायलाई आत्मसम्मान र समानता दिननसक्ने कुरा पनि उनले खुल्लासा गरे ।
यसैगरी मोर्चा केन्द्रीय सदय तथा हुम्ला इन्चार्ज रामबहादुर बिकको नेतृत्वमा हुम्लामा बिरोध प्रदर्शन तथा सभा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा केन्द्रीय सदस्य रामबहादुर बिकले भने, ‘सामाजिक जातीय विभेद र राष्ट्रघाती एमसीसी सम्झौता दलाल राज्यसत्ताको परिणाम हो । दलाल व्यवस्था रहेसम्म मुलुक वैदेशिक हस्तक्षेप र सामाजिक बिभेदबाट मुक्त हुनसक्दैन त्यसैले जनक्रान्ति आवश्यक छ ।’
राष्ट्रघाती एमसीसी बिरुद्धको बिरोध प्रदर्शन तथा जनसभा मोर्चाका केन्द्रीय सदस्य शरोजको नेतृत्वमा कालीकोटमा पनि सम्पन्न भएको छ । श्रमिक समुदायले जातीय सङ्घर्ष मात्रै हैन वर्गीय मुक्ति र राष्ट्रिय स्वाधीनताको सवाललाई पनि उतिकै महत्वका साथ आत्मसात गरि जनक्रान्तिमा लाग्नुको विकल्प नभएको बताएका छन् ।
जाजरकोट, कालीकोट र हुम्लामा मोर्चासँगै पार्टी र अन्य जवस÷मोर्चाका जिम्मेवार नेतृत्वहरूले पनि राष्ट्रघाती एमसीसी सम्झौता देश र जनताको पक्षमा नभएको र राष्ट्रको हित बिपरीत सन्धिसम्झौता गर्ने संसद जनताको नभएर मुठ्ठीभर दलाल र बिदेशीको कठपुतली भएको समेत बताए । जाजरकोटको सभाको समापन गर्दै मोर्चा केन्द्रीय सदस्य तथा रुकुम–जाजरकोट जिल्ला इन्चार्ज गम्भीर बिकले भने, ‘सामाजिक जातीय उत्पीडन मानवाधिकार विरुद्ध छ भनेर ऐन, कानुनमा लेखेर मात्रै हुँदैन । श्रमिक समुदायको आर्थिक अबस्थाको मुल्याङ्कन गरेर राज्यले बिशेष आर्थिक कार्यक्रम तयार गर्नुका साथै सामाजिक विभेद हुने सबैखाले उत्पादन सम्बन्धको बिस्थापित गरिनुपर्छ र राज्यद्वारा संरक्षित जातीय विभेद राज्यले नै अन्त्य गर्न बिशेष कार्यक्रमको लागू गर्नुपर्छ ।’
कर्णाली प्रदेश समन्वय समिति अन्तर्गतका बाँकी जिल्लाहरूमा चैत्र ७ गते कार्यक्रम हुने कुरासमेत मोर्चा केन्द्रीय सदस्य गम्भीरले जानकारी दिए ।
यता, राष्ट्रघाती एमसीसीको बिरुद्धमा इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजारमा सडक सभा सम्पन्न भएको छ । श्रमिक समुदाय मोर्चाको आयोजनामा सम्पन्न सभाले एमसीसी सम्झौताबिरुद्ध कडा चेतावनी दिएको छ ।
उक्त कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा श्रमिक समुदाय मोर्चा इलामका अध्यक्ष प्रकाश खातीको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टीका जिल्ला सेक्रेटरी मौसमले उक्त कार्यक्रममा एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने बताए । उनले नेपाली जनताले स्वाधिनताको निम्ति बलिदान गरेरै भएपनि राष्ट्रघातबाट मुलुकलाई बचाउने बताए । उनले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनताको सङ्घर्षमा अग्रपङ्क्तिमा उभिने र देशलाई नेतृत्व प्रदान गर्ने बताए ।
कार्यक्रममा मोर्चाका अध्यक्ष प्रकाशले यो देश बिदेशीलाई सुम्पन्ने दलालहरूको मुखुण्डो उदाङ्गिएको हुनाले अब जनताले उनीहरूलाई जनकारवाही गर्नुपर्ने बताए । को–को राष्ट्रघाती हुन् चिनिसकिएको यो परिस्थितिमा जनता भ्रमित नभइ देशभक्त क्रान्तिकारीहरूको पङ्क्तिमा आउन अपिल गरे । कार्यक्रममा दुई बर्ष भन्दा बढी इलाम कारागारमा बसेर भर्खरै रिहा भएका दिपेश राई ‘बदला’ लाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।