जसपा प्रमुख सचेतक एवं सांसद प्रमोद साह कुटिए !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह स्थानीयबाट कुटिएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा शनिबार आज बिहान क्लबको भवन निर्माणको विषयमा विवाद हुँदा सांसद साह कुटिएका हुन् । सो स्थानमा सांसद साह र स्थानीय पक्षबीच झडप नै भएको स्थानीयले बताएका छन् । साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणमा परी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले सर्लाहीमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । झडपमा साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएको र साहको गाडीमा पनि क्षति पुगेको जनाइएको छ । त्यस्तै केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ ।