नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध

२०७८ चैत्र १५ गते, मंगलवार


काठमाडाैँ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच साेमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरेका हुन् ।
दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए । उनिहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए।
पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो । नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् । दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घको १९३औँ सदस्यका रूपमा सामेल भएको उक्त विश्व सङ्गठनको कान्छो सदस्य देश हो ।

प्रतिक्रियाहरु

[anycomment]