चुनावको विषयमा गरिएका प्रचारबाजी पार्टीलाई बदनाम गराउने प्रतिक्रियावादीहरूको षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले पार्टीविरुद्ध प्रतिक्रियावादीहरूले अनेकन भ्रामक प्रचारबाजी गरेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दाङको सातौँ पूर्ण बैठकलाई सम्बोधन सो कुरा बताएका हुन् । नेता शितलले भने, ‘स्थानीय चुनावको विषयमा गरिएका प्रचारबाजी र पार्टीलाई बदनाम गराउने प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई परास्त गरिएको छ ।’ नेता शितलले स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने बताए । उनले चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नभएको समेत बताए । उनले भने, ‘पार्टी दर्ता गरेर चुनावमा जादैनौँ तर, राष्ट्रघाती एमसीसी एवम् राष्ट्रघात बिरोधी जनपक्षीय प्रतिनिधिहरूलाई सहभागी गराउछौँ र सहयोग गर्छौँ साथै संसदीय व्यवस्थाको भण्डाफोर निरन्तर गर्छौ ।’
नेपाल कम्युनिस्ट पार्टी दाङको सातौँ पूर्ण बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । नेकपाको सातौँ पूर्ण बैठकमा नेता–कार्यकर्ताहरूले राजनीतिक छलफल मात्रै गरेका छैनन् बरू प्रत्येक नेता–कार्यकर्ताहरू श्रममा जोडिएर नयाँ सन्देश दिएका छन् ।
चैत्र २२ र २३ गते दुई दिनसम्म चलेको उक्त बैठकमा सम्पूर्ण जिल्ला समिति, बिशेष समिति, स्थानीय पार्टी कमिटी लगायत जबस मोर्चाका जिल्ला स्तरीय नेता–कार्यकर्ताहरूको सहभागितामा घोराही उप–महानगरपालिकाको ढिकपुरमा पार्टीले सुरु गरेको आफ्नै उत्पादनमा श्रम गरेको जानकारी दिइएको थियो । नेकपा दाङले करिब ७ बिघा जमिनमा कृषि उत्पादनलाई जोड दिइरहेको छ । सातौँ पूर्ण बैठकको अवसर र नियमित श्रममा जोडिएको पार्टी पङ्क्तिले पार्टीको हालको उत्पादन तोरी काटेर त्यसको व्यवस्थापन गरेको नेकपा दाङका सेक्रेटरी प्रदिपले बताए । उनले भने, ‘हामीले हाम्रो उत्पादनमार्फत आत्मनिर्भर हुने र कम्युनिस्ट मूल्य, मान्यता, आदर्शलाई जीवन व्यवहारमा लागू गर्न खोजिरहेका छौँ ।’ सेक्रेटरी प्रदिपले जनकम्युनको अवधारणा अन्तर्गत उत्पादनलाई अगाडी बढाएको समेत बताएका थिए । घोराहीमा दुई दिनसम्म चलेको नेकपा दाङको ऐतिहासिक सातौँ पूर्ण बैठकले महत्वपूर्ण निर्णय लिएको छ । बैठकले नेकपा केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले लिएका ऐतिहासिक एवम् महत्वपूर्ण निर्णयहरू दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर राष्ट्रघाती एमसीसी एवम् राष्ट्रघात बिरोधी जनपक्षीय प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने साथै संसदीय व्यवस्थाको भण्डाफोर गर्ने जस्ता महत्वपूर्ण निर्णय लिएको छ ।
बैठकले जिल्लामा भव्य विशाल जनसभा गर्ने, वडा स्तरमा भण्डाफोर सभाहरू गर्ने, जवस/मोर्चाका पालिका स्तरमा र जिल्ला स्तरमा सम्मेलनहरू गर्ने, स्थानीय चुनावलाई सङ्घर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णयहरूको गरेको हो ।
यस्तै बैठकले चैत्र २४ गते जनआन्दोलन दिवसको सन्दर्भमा चर्को महँगी र राष्ट्रघाती एमसीसीविरुद्ध दाङका मुख्य शहरहरूमा प्रदर्शनसहित सभाहरू गर्ने, राष्ट्रघाती एमसीसी कुनैपनि हालतमा लागू हुन नदिनेगरी एमसीसीविरुद्ध प्रभावकारी सङ्घर्ष सञ्चालन गर्ने, ६ कम्युनिस्ट र २ मोर्चाको संयुक्त आयोजनामा एमसीसी, राष्ट्रघात र महँगी विरुद्ध सङ्घर्ष सञ्चालन गर्ने, भ्रष्टाचार, कमिसन र सामाजिक उत्पीडनका विरुद्ध शसक्त जनसङ्घर्ष सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका पालिका कमिटी, वार्ड कमिटी र सेल कमिटीहरू सुदृढ गर्ने तथा जवस/मोर्चाका पालिका कमिटी सुदृढ गर्ने लगायतका निर्णय गरेको छ ।
नेकपा दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर, बिशेष कमिटी सदस्यहरू सम्झना र बिक्रमसमेत आतिथ्य रहेको थियो । बैठकमा उपस्थित बिशेष कमिटीका सदस्यहरूले आ–आफ्नो अनुभूतिजन्य मन्तव्य राखेका थिए ।