लोसपाद्वारा प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले प्रधानमन्त्री देउवालाई नागरिकता बिहीनहरुको समस्या समाधान गर्न, मधेस आन्दोलनमा लागेका मुद्दाहरु रेशम चौधरीलगायत महोत्तरी जिल्लाका नेता कार्यकर्ताहरुलाई रिहाईको माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिटोभन्दा छिटो सांसदबाट पास गर्ने प्रतिवद्धता जनाएको र अविलम्व मलखाद किसानहरुलाई उपलब्ध गराउने बारेमा पनि ध्यानाकर्षण गराएको बताएका थिए ।
लोसपाले जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न, महंगी र कालोबजारी नियन्त्रण गर्न, भूमि वितरण सम्बन्धी कुनै कार्यक्रम लागू गर्दा भूमिहीन मधेसी, जनजाती, थारु, शिल्पी, दलित, मुस्लिमलाई प्राथमिकतामा राखि वितरण गर्न र हालसम्म जग्गाधनी प्रमाणपत्र नभएकालाई प्रमाण पूर्जा उपलब्ध गराउने जस्ता माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
