नेकपा धनगढीद्वारा राष्ट्रघात, महंगी र मुल्यवृद्धि विरुद्ध संघर्षको उद्घोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी धनगढी उपमहानगर समितिको सातौ पूर्ण बैठक सम्पन्न भएको छ । धनगढी सेक्रेटरी मिशनको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा कैलाली जिल्ला सचिव गणेश ढकाल रहेका थिए भने अन्य अतिथिहरूमा विशेष समिति सदस्य अनुकूल, विनोद र हरिलाल, नगर इन्चार्ज सरोज, डडेलधुरा जिल्ला कार्यालय सचिव बबरजङ्ग सिंह, जिल्ला सचिवालय सदस्य शिवराज जोशी, महेश पातली लगायत रहेका थिए ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला सचिव गणेश ढकालले संसदवादीहरूले एकपछि अर्को राष्ट्रघाती सम्झौता गरिरहेको बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्न राष्ट्रवादी शक्तिहरू एकजुट हुनपर्ने बताए । महंगी र मूल्यवृद्धिले जनजीवन कष्टकर बनिरहेको बेला सरकारले मूल्यवृद्धि नियन्त्रण गर्नुको साटो बढावा दिइरहेको उनको आरोप थियो । बैठकमा उपस्थित अतिथिहरूले जनअधिकार प्राप्तिका लागि संघर्षको नेतृत्व आफ्नो पार्टीले लिइरहेको अवस्थामा धनगढी उपमहानगर समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बैठकले पार्टी केन्द्रले गरेको राष्ट्रघात महंगी, मूल्यवृद्धि विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । धनगढीमा पासबन्धकी, मिटरब्याज र ढुकुटी जस्ता अवैधानिक कार्य बढिरहेको र यस्ता कार्यमा संलग्नलाई जनकार्वाही गर्ने समेत निर्णय गरेको छ । नेकपा बर्दगोरिया गाँउ समितिको आठौ बैठक समेत शनिबार सम्पन्न भएको छ ।