जसपाद्वारा मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीको आज बिहान बसेको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । जसपाबाट चार मन्त्री सरकारमा रहेका छन् । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् । आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार लिएका यादवले प्रधानमन्त्री शेरवहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाइसकेका छन् । उनले प्रधानमन्त्री समक्ष डा.सूर्य नारायण यादवलाई वन तथा वातावरण मन्त्री, डा. सुरेन्द्र यादवलाई कृषि तथा पशुपालन मन्त्री र मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिसकेका छन् । यस्तै, उनले पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती सुशीला श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । श्रेष्ठ गौरसांसद हुन । मन्त्रीको नाम सिफारिस गर्नु अगाडि यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग पनि छलफल गरेका थिए ।
बाबुराम भट्टराई पक्षसँग सहमतिमै अलग हुने निर्णय भएलगत्तै जसपाले मन्त्री हेरफेरको निर्णय गरेको हो ।