जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा शोक मनाइँदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै छ। आबेको निधनप्रति दुख व्यक्त गर्दै सरकारले शनिबारका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। आबेको राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा आबेको शुक्रबार गोली हानी हत्या गरिएको थियो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
सरकारले आबेको निधनप्रति गहिरो दुःख समेत प्रकट गरेको छ। आबेलाई गोली प्रहार गरी गरिएको हत्या निन्दनीय भएको भन्दै सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ। गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाइएको छ।