प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति गरेका थिए । निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।
यसैबीच, निर्वाचन आयोगले आसन्न प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको छ । अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र मतदाताको संख्यामा भएको वृद्धिलगायतका कारण करिब १० अर्ब खर्च हुने आयोगको अनुमान छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोग पदाधिकारीले यसबारे जानकारी गराइसकेको आयोगको भनाइ छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावको घोषणाको गृहकार्य गरिरहँदा सुरक्षा निकायले पनि आफ्नो तयारी थालेका छन् ।स्रोत–साधन पर्याप्त उपलब्ध गराए एकै चरणमा निर्वाचनका लागि सुरक्षा निकाय सक्षम रहेको उनीहरूको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल एकै चरणमा निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले कुनै समस्या नभएको बताए । निर्वाचनको घोषणा भएलगत्तै सुरक्षा योजना बनाएर अघि बढिने उनको भनाइ छ । गत ३१ वैशाखमा स्थानीय तहको निर्वाचन सहज रूपमा एकै चरणमा गरेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि ठूलो समस्या नभएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा व्यवस्था गर्नुपरेको थियो । तर, संसदीय निर्वाचनमा एकै ठाउँमा मतगणना हुने भएकाले सुरक्षा निकायलाई सहज हुने उच्च प्रहरी अधिकारी बताउँछन् । स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । संसदीय निर्वाचनमा पनि करिब त्यही संख्यामा म्यादी चाहिने प्रहरी आँकलन छ । गाडी तथा हातहतियारको भने प्रहरीलाई अभाव छ ।