माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन

२०७९ भाद्र ४ गते, शनिबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो बैठकले महासचिवमा देव गुरुङसहित पार्टी पदाधिकारीको टुंगो लगाएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मतले पारित भएको बताइएको छ । बैठकले २१ सदस्यीय पदाधिकारी बनाएको र विशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले भने, ‘हामीले विशेष महाधिवेशन गर्ने भनेका छौं, विशेष महाधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको हो।’
जसअन्तर्गत वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङको नाम अनुमोदन गरेको छ। उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेलको नाम अनुमोदन गरेको छ। सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल ‘प्रशान्त’ चयन भएका छन्।
अब माओवादी केन्द्रमा वैकल्पिकसहित १५६ जनाको पोलीटव्यूरो बनेको छ। यस्तै, ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय अनुमोदन भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]