वैज्ञानिक समाजवादी क्रान्ति सफल पार्न एकीकृत जनक्रान्ति

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा कास्की गोरखा इञ्चार्ज उमा भुजेल ‘शिलु’ ले सरकारी षड्यन्त्र र सबै खाले अवसरवाद विरुद्ध लड्दै वैज्ञानिक समाजवादी क्रान्ति सफल पार्न एकीकृत जनक्रान्ति कार्यदिशामा केन्द्रित हुनु पर्ने बताएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी गोरखाको ७औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेत्री शिलुले सो कुरा बताएकी हुन्। ऐतिहासिक गोरखा जेलब्रेककी कमाण्डर तथा तनहुँ कालिकाटार प्रहरी चौकी कब्जा गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेकी नेत्री शिलुले नेपाल विश्व शक्ति केन्द्रको भूकम्पीय केन्द्र (इपीसेन्टर) मा परेकोले राष्ट्रिय मुक्ति आन्दोलनको नेत्रृत्व गर्न तयार हुनुपर्ने बताइन । उनले पार्टीको ९ औं महाधिवेशनले नेपाली क्रान्तिको ढोका खोल्ने दाबिसमेत गरिन् ।
सम्मेलनले कपिल भट्ट ‘प्रतीक’को नेत्रृत्वमा ७ सदस्य पछि थप्नेगरी २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सिरानचोक गा.पा. को छोप्राक, थुम्कीमा रहेको सहिद भीमसेन पोखरेल ‘वैरागी’ स्मृति सभा भवनमा सम्पन्न सो अधिवेशनमा प्रचण्ड समूहका गोर्खा जिल्ला सल्लाहाकार तथा सहिद परिवार रामप्रसाद दाहालले नेकपा उदाउँदो शक्ति भएकोले यसको विजय निश्चित भएको ठोकुवा गरे ।
दाहालको नेत्रृत्वमा दुई दर्जन भन्दा बढी कार्यकर्ताले माओवादी केन्द्र (माके) छोडेर नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा सहिद भीमसेन पोखरेल ‘वैरागी’ की आमा तिलमाया पोखरेलको गरिमामय उपस्थिति रहेको थियो । युवा नेता रनबहादुर गुरुङले शुभकामना मन्तब्य राखेका थिए । केरावरी सामूहिक हत्याकाण्ड भएको स्थान र घटना भएको घर धनीसमेत नेकपामा गरेको ध्रुविकरणलाई गोरखाली बुद्धिजीवीहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । सो कार्यक्रमको कपिल भट्ट ‘प्रतीक’ सभाध्यक्ष कृष्ण अधिकारी सञ्चालन र डम्बर चेपाङले स्वागत मन्तव्य राखेका थिए ।