नेकपा धादिङको सेक्रेटरीमा सृजन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी धादिङको ५ औं जिल्ला सम्मेलनले सेक्रेटरी सृजनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विश्वास गरेको एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपाका नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नु पर्ने बताए ।
उनले भने- ‘ हाम्रो काँधमा अर्को थप जिम्मेवारी आएको छ। हाम्रो उदेश्य नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्टहरूलाई एकीकृत गर्नु हो । त्यसैले दृढ संकल्पकासाथ जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक पूरा गर्न लाग्नु पर्ने नै अहिलेको आवश्यकता हो ।’ नेता लामाले दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादको स्थापना गर्नु नेकपाको प्रमुख लक्ष्य रहेको बताए ।
नेकपा धादिङका सेक्रेटरी सृजनको अध्यक्षतामा सञ्चालन भएको सम्मेलनमा अतिथिको रुपमा पूर्व सेक्रेटरी तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बोगटी, नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन र विशेष जिल्लाका सेक्रेटरी मिङ्मारको रहेका थिए ।