नेकपा प्युठानकाे सेक्रेटरीमा गिरु भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्युठानकाे पाँचौ जिल्ला सम्मेलनले गिरु प्रसाद भुसाल (परिवर्तन) सेक्रेटरी रहेकाे २९ सदस्यीय जिल्ला समिति र तीन सदस्यीय जिल्ला सल्लाहकार समिति चयन गरेकाे छ ।
दलाल पुँजीवादी राज्यव्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिकाे आन्दाेलन ! सदृढ संगठन र गतिशिल विचारकाे पक्षमा पाँचौ जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ उक्त सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा निर्माण विभाग प्रमुख अमर झाँक्री मगर (सन्जिव कुमार) ले नेपालमा दलाल संसदीय व्यवस्था खारेज भैसकेकाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि वर्ग संघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, सर्वहारा अन्तराष्ट्रियतावाद र महान सर्वहारा साँस्कृतिक क्रान्तिकाे विधि प्रक्रिया अवलम्वन गर्न अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए । यतिबेला विश्व दलाल पुँजीवादले विकृत भैरहेकाेले पुँजीवादी चंगुलबाट मुक्त गर्न कम्युनिस्ट कार्यकर्ताकाे अहम भूमिका रहेकाे पनि उनले बताए ।
त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. (जागृति) ले वर्तमान कठपुतली सरकार आफैले हस्ताक्षर गरेकाे तीन बुँदे सहमति कार्यान्वयनमा गैरजिम्मेवार देखिएकाेले सहमति कार्यान्वयनमा दबाब दिन सडकमा निर्भिकतापूर्वक खराे उत्रन विशेष आग्रह गरे । यदि सरकार सहमतिबाट पछि हटि नेकपामाथि थप दमनका श्रृङखलाहरु अपनाए इटकाे जवाफ पथ्थरले व्यहाेर्ने पनि उनले बताए । कार्यक्रममा नेकपा विशेष कमिटि सदस्य तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर एवम् सहिद परिवार सीता वि. क. , नेकपा प्युठानका पूर्व जिल्ला इन्चार्जद्वय विक्रम नेपाली र रत्न थापा मगर, नेकपा प्युठानका पूर्व सेक्रेटरी तथा माण्डवी गा. पा. वडा नं. ४ का अध्यक्ष डिल बहादुर घर्ति मगर (अजय) , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य राजेन्द्र रावत क्षेत्री, सहिद परिवार तथा पार्टीका जिल्ला सल्लाहकार माेहन गिरि लगायतले पाँचौ जिल्ला सम्मेलन सफलताको शुभकामना तथा नवनिर्वाचित जिल्ला समितिलाई बधाई मन्तव्य राखेका थिए । सम्मेलन नेकपा प्युठानका सेक्रेटरी केशव थापाकाे अध्यक्षता र गिरु प्रसाद भुसाल (परिवर्तन) काे सन्चालनमा सम्पन्न भएको छ । -राजेन्द्र रावत क्षेत्री