भारतीय कम्पनीले विस्फोट गराउँदा नेपाली बालकको मृत्यु

काठमाडौँ । भारतको लखिमपुरस्थित लिपुलेक जाने रोड बनाउन चट्टानमा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका— २ तम्बाकुमा एक बालकको मृत्यु भएको छ । पहरा फुटाउनका लागि गरिएको सो विस्फोटनका क्रममा भारतीय ढुंगा उछिट्टिएर आई नेपालतर्फ बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास गाउँपालिका वडा नम्बर २, दुम्लिङका ९ वर्षीय पवन महरा रहेको जनाइएको छ । उक्त वडाका वडाध्यक्ष धिरनसिँह बुढाथोकीका अनुसार ती बालक शुक्रबार बिहान ९—१० बजेतिर महाकालीवारि किनारमा थि भन्ने ठाउँबाट कल्जुतर्फ आइरहेका थिए । उता महाकालीपारि भारतीय विस्फोटन गराउँदा बालकमाथि ढुंगा लागेको उनको भनाइ छ ।
सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा उक्त घटना हुन पुगेको देखिन्छ । ज्यान गुमाएका बालक उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको वडाध्यक्ष बुढाथोकीले बताए । उनी आफ्ना बुवा हिक्मत महराका साथमा घरतर्फ आइरहेका थिए । साथमा हिक्मतकी १४ वर्षीया छोरी सरिना पनि थिइन् । ढुंगा लागेर सरिना घाइते भएकी छिन् । तर विनासूचना भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी पहरो फुटाउन विस्फोट गराएपछि उनीहरु त्यसको सिकार हुन पुगे । उक्त कम्पनीले भारतको पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडकको काम गरिरहेको थियो । विगतमा यसरी विस्फोट गराउँदा सिटी बजाएर सूचना दिने गरिएकाे थियाे, पारि सिटी बजेपछि वारि सबैजना सचेत हुने गर्थे ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा टोली खटिएर अनुसन्धान गरिएको थियो । प्रहरीले मृतक बालककाे शव शुक्रबार साँझै दार्चुला जिल्ला अस्पताल लगेर पाेस्टमार्टम गराएकाे थियाे । घाइते सरिनाकाे जिल्ला अस्पतालमै उपचार भइरहेकाे जनाइएकाे छ ।