नेकपा भोजपुरले ‘चुनाव खारेज अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, भोजपुरको दोस्रो पूर्ण बैठक भोजपुर सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी क.तिलक सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।संसदीय व्यवस्थाले देश र जनताको मुक्ति गर्न नसक्ने भएकोले यो सत्ताले गर्न लागेको मंसिर ४ गतेको चुनावलाई खारेज गर्ने निर्णय बैठकले गरेको कुरा सेक्रेटरीले बताए ।
संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवाद स्थापनाको अपरिहार्यता बारे जिल्लामा सशक्त अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । संगठन सुदृढ तथा बिस्तार अभियानलाई समेत एकसाथ अगाडि बढाउने निर्णय बैठकले गरेको कुरा सेक्रेटरी क।तिलक सीले बताए । कार्तिक १ गते कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पारित गरेको कार्यदिशा, रणनीति एवम् कार्यनीति बारेमा बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज क.सैलेश सीले सविस्तार प्रशिक्षण दिए ।विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ विचार – दर्शनको विकास गर्न र नेपाली क्रान्तिलाई सम्पन्न गर्नको निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशालाई विकास गर्नको निम्ति महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेलेको कुरा इन्चार्ज क. सैलेश सीले बैठकमा स्पष्ट गरे । महाधिवेशनको योजनालाई कार्यान्वयन गर्नका निम्ति सबैले सशक्त भूमिका खेल्नका निम्ति इन्चार्जले निर्देशन दिए । महाधिवेशनले जातिको अन्त्य गर्नका निम्ति नामको पछाडि साम्यवादी लेख्ने र बुर्जुवा समाजको अन्त्यका निम्ति कम्युनिस्ट संस्कार – संस्कृति प्रयोग गर्दै जानुपर्ने इन्चार्जले बताए ।-सुमन श्रेष्ठ (सर्गम)