नेकपा दाङद्वारा अध्यादेश विरुद्ध भइरहेको षड्यन्त्रका विरुद्ध जिल्लाव्यापी कोणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज जिल्लाव्यापी कोणसभाहरु सम्पन्न गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा आज जिल्लाको घोराही , तुलसीपुर , लमही , भालुबाङ , पश्चिम शान्तीनगरमा कोणसभाहरु सम्पन्न गरिएको नेकपाले जनाएको छ ।
नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा बिजौरीमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै सहिद वेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती सीले तत्कालीन सरकारले नेकपासंग गरेको तीन बुदे सहमती कार्यान्वयनका लागि अध्यादेश ल्याइएको हुनाले कुनैपनी हालतमा अध्यादेश पारित गरिनुपर्ने बताए । उनले भने – ‘ सरकारले हाम्रो पार्टीसंग गरेको तीन बुदे सहमती कार्यान्वयनका लागि अध्यादेश ल्याएको छ त्यसलाइ हामी स्वागत गर्छौं । राज्यले सहमती कार्यान्वयन गर्नुपर्छ अन्यथा देश युद्धको भुमरीमा फस्छ । हामी देशमा युद्ध चाहादैनौ तर अनेक बहानाबाजी गरेर सहमती लागू गरिएन र अध्यादेश रोकियो भने हामी चुप लागेर बस्दैनौ । हामी फेरि जनतामा फर्किन्छौ र आन्दोलन चर्काउछौ ।’
नेता धर्तीले नेकपासंग गरिएको तीन बुदे सहमती कार्यान्वयन लक्षित अध्यादेशका विरुद्ध केही अपराधीक र गैरराजनीतिक मुद्दाहरु जोडेर नेकपासंगको सहमती भाड्न खोजे त्यसको डटेर प्रतिकार गर्ने बताए ।
उनले भने – ‘सिके राउत , रेशम चौधरी , ज्युदै भट्टामा मान्छे पोल्ने आलमहरुको विषय जोडेर हाम्रो पार्टीसंग तत्कालीन केपि वली नेतृत्वको सरकारले गरेको तिन बुदे सहमती तोड्न मिल्छ । हामिले तीन बुदे अक्षरंस पालना गरेका छौँ तर यतिका २०/२२ महिना बितिसक्दा पनि राज्य जिम्मेवार बनिरहेको छैन । हाम्रा बन्दी अझै जेलमा छन , सम्पुर्ण झुठा मुद्दाहरु खारेज गरिएका छैनन यस्तै कानुनी जटिलता हल गर्न ल्याइएको अध्यादेशलाई असफल बनाउने दुस्साहस गरियो भने देशमा शान्ती भंग हुनेछ । हामी प्रतिरोध संघर्षमा अगाडि बढ्छौं ।’
अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा आयोजित कोणसभाको सहजीकरण नेकपा तुलसीपुरका सेक्रेटरी शिव सीले गरेका थिए । अध्यादेश रोक्ने षड्यन्त्रका विरुद्ध जिल्लाका विभिन्न ठाउमा आयोजित कोणसभालाई नेकपा निकटका जवस/मोर्चाका नेताले सम्बोधन गरेको बताइएको छ ।