सरकार चरम नश्लवादीहरूको झुण्ड !

२०७९ माघ ५ गते, बिहीबार


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई चरम नश्लवादीहरूको झुण्ड भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले वर्तमान सरकारले पूरै मधेशी र थारूलाई बहिष्करण गरेको पनि टिप्पणी गरेका छन् । खासगरी मन्त्रिपरिषद विस्तार असन्तुलित भएकोप्रति लक्षित गर्दै उनले ट्वीटमार्फत उक्त टिप्पणी गरेका हुन् । उनले सत्ता पक्षको व्यवहार यस्तै रहे प्रतिकार गर्ने पनि स्पष्ट पारेका छन् । बुधबार राति अध्यक्ष राउतले गरेको टिप्पणीमा भनिएको छ, ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।’
वर्तमान सरकारले आफ्नो पार्टीलाई मात्रै नभइ मधेशका प्रतिनिधित्व गर्ने पूरै दलहरुलाई नै पाखा लगाएर बुलडोज गरेको पनि उनको आरोप छ । उनले ट्वीटको अघि भनेका छन् ‘कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै (शासक वर्ग)ले बूलडोज गरेको हो।’
प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीका तर्फबाट एक मन्त्री छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएपनि जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको छ । तर उक्त मन्त्रालय लिन जनमत पार्टीले अस्वीकार गरेको छ । अन्य मधेशी दलहरु भने सरकारमा अटेका छैनन् । जसपा अध्यक्ष उपेन्द्र यादव रोजेको मन्त्रालय नपाएको भन्दै सरकारमा गएका छैनन् । त्यस्तै आफ्नो माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]