नेपाली जनप्रगतिशील मोर्चा युरोपद्वारा बिमलाको उद्धार

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा युरोपको पहलमा साइप्रसबाट बिमलाको उद्धार भएको छ। साइप्रसमा घरायसी कामदारको भिसामा आएकी बिमलालाई आइपुगेको तीन महिना नपुग्दै साहुले काम दिन नसक्ने जनाउदै कामको सम्झौता सकिएको कागजमा त्यहाको एजेन्ट मार्फत जबरजस्ती हस्ताक्षर गर्न लगायो । काम सकिएको कागजमा हस्ताक्षर गरेपछि र अर्को नयां प्रकृयामा नगएसम्म उनको साइप्रस बसाई नै गैरकानुनी बन्यो । नेपाल र साइप्रसका एजेन्ट मिलेर बिमलाको पासपोर्ट नै जफत गरिदिएपछि उनले त्यहाँ नयाँ काम खोज्न पनि समस्या पर्यो ।
नयाँ काम र अन्य विकल्पको खोजी गर्न पासपोर्ट नै जफत भएपछि विविध मानसिक र प्राविधिक समस्या झेल्न पर्ने भएकाले बिमला र उनका आफन्तले नेपाली जनप्रगतिशील मोर्चा, युरोपलाई सहयोग गरि नेपाल पठाइदिन अनुरोध गरे र पीडितकै आग्रह अनुसार मोर्चाले बिमलाको टिकट व्यवस्थापन गरी नेपाल पठाएको छ । नेपाल सरकारले अन्य देशहरुसंग वैदेशिक रोजगारी सम्बन्धी सम्झौताहरु गर्न नसक्दा नेपाली युवा युवतीहरुले विदेशमा शारिरीक तथा मानसिक यातना भोग्न परिरहेको छ । उनलाई नेपालमा आफन्तसहित नेकपाका कार्यकर्ता, अखिल (क्रान्तिकारी) का पदाधिकारी, जनपत्रकार संगठनका सदस्य र मध्यपूर्व मोर्चाका संयोजकले स्वागत गरेका थिए ।