नेकपा कालिकोटले दलाल र माफिया विरुद्ध संघर्ष गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले दलाल र माफिया विरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ । नेपालमा दलाल र माफियाहरुको विगविगीका कारण देश संकटमा परेको भन्दै नेकपा कालिकोटले संघर्ष गर्ने घोषणा गरेको हो । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको हालै सम्पन्न जिल्ला समितिको वैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार कालिकोटको मान्ममा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली राष्ट्रिय मुक्ति माेर्चाका संयोजक विराट सीले सो घोषणा गरेका हुन् उनले दलाल पूँजीवादी व्यवस्थाको चरित्र नेपालमा नाङ्गो रुपमा विभिन्न क्षेत्रमा देखिदै गएकोले आर्थिक संकट पैदाहुदै गएको ठोकुवा गरे । तराईमा मिटर व्याजी, पहाडमा वैङ्क तथा वित्तिय संस्थाहरुले लाखौं नेपाली जनताको उठ्ठीवास गरेको भन्दै त्यस्ता दलाल माफियाहरु माथि नेपाल कम्युनिष्ट पार्टीले कार्वाही गरेर छोड्ने चेतावनी दिए ।
उनले नेपालमा दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नगरे सम्म नेपाली जनताको मुक्ति नहुने ठोकुवा गरे । उनले दलाल पूँजीवादले नेपाली युवा शक्तिलाई योजनावद्ध विदेश पलायन हुने वातावरण वनाएको दावी गर्दै युवाहरुले विदेश नभई स्वदेशमै दलाल पूँजीवाद विरुद्ध संघर्ष गर्न आग्रह गर्दै शिक्षा र स्वास्थ्य क्षेत्र समेत निजीकरण र व्यपारीकरण गर्दा माफियाहरुको अत्याचार वढेको वताए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी कालिकोटले फागुन ५ र १५ गते जिल्लाभर विरोध प्रदर्शन गर्ने भएको छ । पत्रकार सम्मेलनमा बैठकका निर्णय सार्वजनिक गर्दै जिल्ला सेक्रेटरी शाहासी सीले महंगी र चर्को व्याजदरविरुद्ध जिल्लाभर विरोध प्रदर्शन गर्न लागेको बताए । उनले बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको बताए । जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने – ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर विरुद्ध ५ गते र चर्को महंगी विरुद्ध १५ गते जिल्लाभर विरोध प्रदर्शन गर्नेछौं ।’
पत्रकार सम्मेलनमा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, जिल्ला इन्चार्ज बलवान् सी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।