नेकपा कञ्चनपुरद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

२०७९ फाल्गुन २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा गएको नेकपा कञ्चनपुरका इन्चार्ज विराट सी र सचिव दिवार सी लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो । नेकपाले भारतबाट आउने बन्देज लगाइएका खाद्य वस्तु तथा तरकारीहरूको आयातमा रोक लगाई नेपाली कृषकलाई प्रोत्साहन दिने वातावरण सिर्जना गर्नुपर्ने लगायतका मागहरु राखेर कञ्चनपुर जिल्ला सिडियो गोपाल प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएको हो । साथै नेकपाले जिल्ला भित्र रहेका जनताका जनजीविका संग जोडिएका विषयहरू महंगी , कालोबजारी र भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने र बैंक , लघुवित्त र मीटरब्याजीहरुको अवैध धन्दा , विकास निर्माणका कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही दायरामा ल्याउनु पर्ने माग समेत गरेको छ । उक्त ज्ञापनपत्रका मागलाई सम्बोधन गर्दै जिल्ला प्रमुख अधिकारी अर्यालले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने विषयवस्तुलाई समाधान गर्ने बताए । साथै जिल्लामा रहेका समस्यालाई समाधान गर्ने नेकपा संग समुन्यव गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका इन्चार्ज विराट सी र सचिव दिवार सीको संयुक्त हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई बुझाएको ज्ञापनपत्रमा निम्न प्रकारका मागहरु गरिएको छ –
१) जिल्ला भित्र भइरहेको बढ्दो महंगी , कालोबजारी , चर्को बैंकको ब्याजदर , लघुवित्तको उत्पीडन र मीटरब्याजीहरुको अवैध धन्दा तुरन्त नियन्त्रण रोक लगाई सूक्ष्म अध्ययन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने ।

२) जिल्ला भित्र किसानहरुले उत्पादन गरेको कृषिजन्य वस्तु जस्तै धान,गहुँ , चामल , दाल ,तेल र तरकारी लगायतको उचित मूल्य सहित बजारको ग्यारेन्टी गर्नुपर्ने साथै म्याद नाघेका अखाद्य वस्तुहरूको अनुगमन गरी रोक्नुपर्ने ।

३) भारतबाट अवैध रूपमा आयात हुने दैनिक उपभोग्य वस्तु तथा तरकारीमा रोक लगाई नेपाली कृषकहरुलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्ने ।

४) निर्माणधिन राष्ट्रिय गौरवको आयोजना महाकाली पुल र महाकाली नहर ( सिंचाई ) को गुणस्तरीयता कायम गर्न सक्रिय पहलकदमी लिनुपर्ने साथै भौतिक संरचना निर्माणमा लापरवाही र गुणस्तरहीन काम गर्ने निर्माण कम्पनी तथा ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनु पर्ने ।

५) शिक्षा क्षेत्रमा भइरहेको शुल्कवृद्धि र सरकारी विद्यालयमा भइरहेको लापरवाही प्रति प्रशासनले कडा कदम चाल्नुपर्ने ।

६) स्वास्थ्य क्षेत्रमा भइरहेको गैरजिम्मेवारी – माफियाकरण मा रोक लगाउनुपर्ने साथै दर्ता नगरी सञ्चालनमा आएका मेडिकल क्लिनीकलाई कारबाही गर्नुपर्ने साथै महाकाली प्रादेशिक अस्पतालमा भइरहेको अनियमिततालाई नियन्त्रण गर्नुपर्ने ।

७) नेपाल भारत सीमानाका गड्डाचौकी र ब्रह्मदेव बाट आयात गरिने वस्तुको क्वारेन्टाइनमा गुणस्तर चेक गरिनुपर्ने साथै साइकलमा व्यापार गरी जीवन गुजारा गर्नेहरूलाई सहज गरिनुपर्ने ।

८) नेपाल भारत नाका गडाचौकी बनबसाबाट ओहोर दोहोर गर्ने नागरिकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण निर्माण गरिनुपर्ने भारत सरकार संग समन्वय गरी एसएसबी ले गर्ने नेपाली नागरिक प्रतिको ज्यादतीमा रोक लगाउनुपर्ने ।

९) महाकाली नदी , चुरे क्षेत्र र जिल्ला भित्रका नदीहरूमा अवैध रुपमा भइरहेको गिट्टी , ढुङ्गा, बालुवा तथा बन पैदावार उत्खननमा रोक लगाउनुपर्ने ।

१०) सीमानाका बाट अवैध रुपमा हुने लागू औषध आयात तथा मानव तस्कर र चेलीबेटी बेचबिखनमा कडाइपूर्वक नियन्त्रण गरिनुपर्ने ।

११) दैजी बेल्डाँडी सडकखण्ड निर्माणमा भइरहेको ढिलासुस्ती अनुगमन गरी ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनु पर्ने ।


  • गणेश एसके

प्रतिक्रियाहरु

[anycomment]