सरकारको लाचारीपन र भारतको दबावमा नेपालमा जातीय विभेद !

२०७९ चैत्र ६ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन नसकेको उल्लेख गर्दै नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा दर्ज गर्न नसकेको ठोकुवा गरेका छन् ।
माओवादी घटकका तीन कम्युनिस्ट पार्टी निकट दलित / श्रमिक समुदाय मोर्चाहरुद्वारा आईतबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्षले सो ठोकुवा गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक मोर्चा र संघ/संस्थाले सक्रियतापुर्वक भाग लिएका थिए । आधारपत्रमाथि राखेका जिज्ञासा र धारणा माथि प्रष्ट्याउदै प्रमुख अतिथि श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी.ले भने “२१ मार्च रंगभेदसँग सम्बन्धित दिवस भएको र नेपालीहरुको सहभागिताको दिवस मात्रै हो ।।
नेपालको नागरिकता नागरिकको परिचयपत्र नभएर जात र थरको परिचयपत्र भएको समेत उनले जिकिर गरे । श्रमिक वा दलित समुदायलाई जातीय उत्पीडनको महसुश तुलनात्मक रुपमा बढी भएता पनि भेदभाव गैरदलित-गैरदलित, दलित-दलित, दलित र गैरदलित र अन्य जात जाती बिच पनि भएको उनले बताए । अर्कोतिर सबैमा गरिबी, बेरोजगार, लघुवित्त, मिटरब्याजी आतंक, चर्को कर र भ्रष्टाचार पनि समस्याका विषय हुन् । श्रमजीवी उत्पीडित वर्ग समुदायको एकता र नयाँ व्यवस्था बिना कसैको मुक्ति नहुने कुरा समेत उनले बताए ।
यस्तै जात व्यवस्था उन्मुलन मोर्चा नेपालको तर्फबाट अतिथिको रुपमा बोल्दै सर्वजितले भने, “नेपालको वर्ग निर्माण जातको आधारमा भएको छ यसलाई सबैले स्वीकार्नुपर्छ र समाधान हुने राजनीतिक कार्यदिशा निर्माण गरी लागू गर्नुपर्दछ ।”
त्यसैगरी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष जनक कामीले भने, “उत्पीडित वर्ग समुदायको एकता नहुञ्जेलसम्म अन्याय र अत्याचारको शिकार भइरहनुपर्ने कारणले गर्दा सबैले आ-आफ्नो ठाउँबाट एकता र सहकार्यको भाव राख्न जरुरी छ ।”
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इञ्चार्ज रातो कामी, अधिकारका लागि दलित जागरण अभियानका कर्णाली प्रदेश अध्यक्ष गोबिन्द बिक, नागरिक समाज प्रतिनिधि राजेश सोनी, महिला संघ फेडेरा प्रतिनिधि चम्पा बिक लगायतका अतिथिले मन्तव्य राखेका छन् । कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य ध्रविन्द्र सी, पत्रकार महासंघ सुर्खेतका टेकेन्द्र बिक समेतको आतिथ्यता रहेको थियो । करिव १ सय ५० जनाको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रम यमनको अध्यक्षता, सरोज सी.को स्वागत मन्तव्य र रमेश विक्रम परियारको सञ्चालनमा सम्पन्न भयो ।
“जातमा आधारित विभेद उन्मुलनको प्रश्न” विषयक उक्त अन्तरक्रिया कार्यक्रम ५८ औँ अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजना गरिएको श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्य ध्रविन्द्र सी. ले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]