‘जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था’

काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार रास्कोटमा सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक समेत रहेका नेता विराट सीले नेपाली जनताको मुख्य दुश्मन पैसा मात्र चाहिने पुँजीबादी व्यवस्थालाई ध्वस्त नपारी जनताको बैज्ञानिक समाजबादी व्यवस्था प्राप्त नहुने बताए ।
नेता विराट सीले भने – “पैसा चाहिने व्यवस्था बैज्ञानिक समाजबाद होईन, बरू पैसाको सट्टा जनताले राज्यलाई श्रम दिने र राज्यले जनतालाई स्वास्थ्य, शिक्षा, गाँस,बास, कपासमा निशुल्क सेवा दिने व्यवस्था नै बैज्ञानिक समाजबाद हो ।”
उनले क्रान्ति बिना बैज्ञानिक समाजबादी व्यवस्था नआउने भन्दै एकीकृत जनक्रान्तिको माध्यमबाट क्रान्ति पूरा गर्नु पर्नेसमेत बताए ।
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी साहासी सीले दलाल संसदीय व्यवस्था बिरूद्ध तीखो भएर लाग्न कार्याकर्तालाई आग्रह गरे । उनले कुखुरा र खसिका टाउका मात्र खाने दलाल व्यवस्थाका मालिकहरुले जनताको पक्षमा कहिल्यै काम गर्न नसक्ने बताए ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त बिकले दलाल पुँजीवादी व्यवस्था संरक्षण गर्ने प्रचार युद्ध प्रति भ्रमित नहुन सहभागीहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहिद परिवारको तर्फबाट नहकुल बम, नगर सल्लाहकार समिति सदस्य संघर्ष, युवा संगठन कालिकोटका सचिव देबेन्द्र सी पचालझरना गाउँ कमिटी सदस्य नमराज सी लगायतकाे आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता मिना सीले गरेका थिए भने कार्यक्रमको संचालन नगर कमिटी इन्चार्ज निर्देशन सीले गरेका थिए ।