रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा रिटमाथि सुनुवाइ सकिएपछि विपक्षीका नाममा सो आदेश जारी भएको हो । बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरेका थिए । पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका थिए ।